
चलचित्र ‘राजागञ्ज’ (पुजार सर) फ्रान्सका ६२ हलमा एकसाथ रिलिज भएको छ।
अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलोपटक हो। फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो।
वितरण कम्पनीकी मिशेल हाल्बस्र्टाडले यसबारे भनिन्, ‘‘पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यमा सीधै लैजान्छ। यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ। हामी फ्रान्सका दर्शकलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौं।’
यो फिल्मलाई फ्रान्सेली मिडियाले प्रशंसा पनि गरेका छन्। एल्ली म्यागजिनले ‘एक अद्भूत थ्रीलर रत्न’ भन्दै प्रशंसा गरेको छ । ‘ आफ्नो फिल्मलाई निर्यातयोग्य बनाउन पश्चिमीकरण नगरी, दीपक रौनियारले हामीलाई नेपालका विभिन्न समुदायबीचको समस्या र संघर्षमा डुबाउँछ ।’
‘ला पेरिसियन’ले फिल्मको समीक्षा गर्दै लेखेको छ, ‘हामी गोलो अनुहार भएकी एक सहानुभूतिपूर्ण प्रहरी अफिसरको पछाडि लाग्छौं, जसले व्यक्तिगत र राजनीतिक दुवै तहको अनुसन्धान सुल्झाउँछिन्। केही दृश्य अत्यन्तै सिनेम्याटिक छन्, जस्तै सडक प्रदर्शनको भीडमा फिरौती बुझाउने दृश्य।’
‘ला जर्नल दु दिमान्चे’ले एक शक्तिशाली र उज्यालो कृति भन्दै यसको प्रशंसा गरेको छ। ‘ले पोइन्ट’ लेख्छ, ‘ फिल्म नोयरको शुद्ध परम्परामा, दीपक रौनियारले यो प्रहरी अनुसन्धानलाई बहाना बनाएर प्रणालीविरुद्ध विद्रोह गर्ने पात्रको कथा सुनाउँछन्।’
यो फिल्म मे महिनामा स्विट्जरल्याण्डमा पनि रिलिज भैसकेको छ। ३ महिना बितिसक्दा पनि त्यहाँका ५ सहरमा फिल्म रिलिज भएको निर्देशक रौनियारले जानकारी दिए।
फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार पनि विक्री भएको छ। यसैसाता मेलबर्नस्थित स्क्रिनएक्सकोपसँग वितरण सम्झौता भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
फिल्मको ब्याकग्राउन्ड स्कोर स्पोटीफाई, अमेजन प्राइम, युट्युब लगायतका प्लाटफर्मबाट २४३ देशमा रिलिज गरेको जनाइएको छ। हङकङ र लण्डन कार्यालय भएको ‘प्लाजा मेयर कम्पनी’ले अर्काड सोनी म्युजिकको प्लाटफर्मबाट यो धुन रिलिज गरेको हो।
‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङलगायतका कलाकारको अभिनय छ । निर्देशक दिपक राैनियारका निर्देशनमा तयार भएकाे राजागञ्जकाे वर्ल्ड प्रिमियर सन् २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो । त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवमा प्रदर्शन भइसकेको छ।
फ्रेन्च ट्रेलर: