
मुगु – मुगुमा गएको आर्थिक वर्षमा ९३ करोड रुपैयाँभन्दा बढी रकम खर्च हुन सकेन। कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न कार्यालय र स्थानीय तहले समयमै योजना सम्पन्न नगर्दा ९३ करोड २४ लाख रुपैयाँ फ्रिज भएको हो।
मुगुमा गत वर्ष २ अर्ब ८१ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो मध्ये २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ मात्रै खर्च भएको कार्यालय प्रमुख हरी अधिकारीले जानकारी दिए । चालु तर्फ ९१ प्रतिशत र पुँजीगत तर्फ ६४ प्रतिशत खर्च भएको उनले बताए।
छायाँनाथ रारा नगरपालिकामा ३७ करोडभन्दा बढी निकासा भए पनि ३४ करोड मात्रै खर्च भयो। सोरु गाउँपालिकाले ३५ करोडमध्ये ३० करोड खर्च गर्यो भने मुगुमकार्मारोङ गाउँपालिकाले २३ करोडमध्ये १८ करोड मात्रै खर्च गरेको छ। त्यस्तै खत्याड गाउँपालिकाले ४१ करोडभन्दा बढी निकासा भए पनि ३५ करोड रुपैयाँ मात्र खर्च भएको छ।
प्रदेशतर्फका ८ कार्यालयको १ अर्ब ६६ करोड बजेट मध्ये १ अर्ब ३ करोड मात्रै खर्च हुँदा ६२ करोड रुपैयाँ फ्रिज भएको प्रदेश लेखा प्रमुख भक्ती काफ्लेले बताए।