
पर्सा- खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।
आज पर्सा स्थित ठोरी गाउँपालिका- ४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई- मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताए ।
“तराई- मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” उनले भने,“खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”
त्यसैगरी मन्त्री यादवले तराई-मधेशमा विकराल समयमा पनि आफु सहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।
“विपद्को यस घडिमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाडै समाधान गरिने म आम नागरिकहरुमा बिश्वास दिलाउन चाहन्छु,” उनले भने ।
मन्त्री यादवले आफुले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।
उनले भने, “यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।”
मन्त्री यादवले ठोरी गाउँपालिका- ४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल प्रतिविम्ब भएको दाबी गरे ।
उनले भने, “यो आयोजना केवल पाइपलाइन, पम्प हाउस वा ट्याङ्कीको संरचना निर्माण मात्रै होइन, नागरिकलाई नियमित, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति गर्ने आयोजना हो ।”