
पोखरा – नेपालको प्रतिष्ठित लक्जरी हस्पिटालिटी ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले पोखराको लेकसाइडमा ‘सोल्टी वेष्टएण्ड लेकसाइड’ होटलको सञ्चालन गर्ने भएको छ।
यो होटल ‘वेष्टएण्ड’ ब्रान्डअन्तर्गत होटल पेनिनसुला प्रा. लिसँगको सहकार्यमा निर्माण हुँदै छ भने यसको व्यवस्थापन स्ट्रिम पीक इन्टरनेशनल प्रा. लिले गर्नेछ।
फेवा तालनजिकै अवस्थित होटलका लागि आगामी सेप्टेम्बरदेखि बुकिङ सुरु हुने बताइएको छ। होटलमा ७७ प्रिमियम कोठा, ६ जूनियर सुइट, र एक प्रेसिडेन्सियल सुइट रहनेछन्, जुन आधुनिक शैली र आरामको समन्वयमा डिजाइन गरिएका छन्।
होटलको रुफटप बारबाट अन्नपूर्ण हिमशृङ्खलाको दृश्य, स्वादिलो भोजनको विविध विकल्प, साथै आधुनिक सुविधा समेटिएको स्पा, हेल्थ क्लब र स्विमिङ पुलसमेत रहने छन्।
कार्यक्रम र सेमिनारका लागि २५० जनासम्मको क्षमता भएको कार्यक्रम हल र बहुउपयोगी बैठक कक्षहरू पनि होटलमा उपलब्ध हुनेछन्। साथै, पर्यटकले स्थानीय उत्पादनका स्मारिकाहरू किन्न सक्ने स्मारिका पसलहरू र पर्याप्त पार्किङ सुविधा पनि प्रदान गरिनेछ।
होटल व्यवस्थापन सम्झौतामा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र होटल पेनिनसुला प्रा. लिका संस्थापक खिमबहादुर ढकालले हस्ताक्षर गरे।
चापागाईंले भने, ‘यो साझेदारीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा सोल्टी ब्रान्डको विश्वसनीयता र सेवा अनुभव थप सुदृढ पार्नेछ।’
उनले थपे, ‘सोल्टी वेष्टएण्ड लेकसाइडले आधुनिक डिजाइन, न्यानो सेवा र सांस्कृतिक सम्पदाको समायोजनमार्फत अतिथिलाई नयाँ अनुभव दिनेछ।’