
काठमाडौँ – नेपाली बजारमा लिपमोटरको नयाँ मोडल ‘बी१०’ ईभी गाडी भित्रिएको छ। नेपालका लागि उक्त गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बुधबार ‘स्निक प्रिभ्यू’ कार्यक्रम आयोजन गर्दै गाडी आइसकेको र नाइमा एक्स्पोमा औपचारिक रूपमा सार्वजनिक हुने बताएको हो।
नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले गरेको छ।
६७.१ किलोवाट आवर ब्याट्रीसहितको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किलोमिटरसम्म मज्जाले कुद्ने कम्पनीको दाबी छ। यसमा जडान गरिएको १६० किलोवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ।
साथै, यो गाडीले युरोपेली एसीएपीको ५स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिने कम्पनीले बताएको छ। आकर्षक डिजाइन, स्मार्ट फिचरहरू समावेश भएको यस गाडीले उत्कृष्ट ड्राइभिङ अनुभवको प्रदान गर्ने कम्पनीले बताएको छ।
लिपमोटर ८१० को औपचारिक लन्च तथा प्राईस रिभिल आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा गरिने कम्पनीले जानकारी दिएको छ । यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।
कम्पनीले गाडीको मूल्य एक्सपोमै घोषणा गर्ने बताउँदै मूल्य भने ६० लाखभन्दा कम हुने गरी सार्वजनिक गर्ने बताएको छ । यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउने कम्पनीको दाबी छ ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले यो गाडीका प्रयोगकर्तालाई सानदार अनुभूतिको प्रदान गर्ने बताए । ‘यो गाडीले के दिन सक्छ भन्ने कुराको आज झलक मात्र हो, डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै पर्फेक्ट १० हो,’ उनले भने । यो गाडीलाई नाइमा एक्स्पोमा प्रस्तुत गर्न पाउँदा उत्साहित रहेका बताउँदै यो गाडीले ग्राहकको ईभीप्रति सोचाइ परिवर्तन गर्ने विश्वस्त समेत व्यक्त गरे ।