
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एउटा आग्रह छ– ‘अभियानहरूमा सामेल हुनुहोस्, हामीसँगै इतिहास रच्नेछौँ।’
सायद चार वर्षअघि (१९ पुस २०७८) पार्टी स्थापना गर्दा नाउपालाई यसै लागेको थियो। अब इतिहास रच्ने काम हाम्रो हुनेछ।
तर नाउपा चार वर्षको नाबालक अवस्थामै आन्तरिक मतभेदको गम्भिर संकटमा फसेको छ। आन्तरिक कलहले पार्टीको अस्तित्वमाथि प्रश्न उब्जिएको छ।
बुधबार (साउन १४ गते)बसेको पार्टीको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
तर त्यो कारबाहीलाई श्रेष्ठ बैधानिक ठान्दिनन्। राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्र हुने र अरु कसैले बोलाएको भेलाले गरेको निर्णय बैधानिक नहुने उनी बताउँछिन्।
उनी कास्कीको लिचीबारी प्रकरणमा मुछिएपछि पार्टीभित्र जवाफ दिनुपर्ने, केन्द्रीय समिति बैठक बोलाउनुपर्ने पार्टी नेताहरुको मागकाविरुद्ध उत्रिएकी छन्। उनी यी कुनै प्रकृया गर्न तयार भइनन् र बरु उल्टै एकलौटी पार्टीको कार्यबहाक अध्यक्ष शिव बास्तोलालाई तोकिन्।
उनको यस प्रकारको गतिविधि पार्टी विधानविपरीत भएको भन्दै पार्टीको राष्ट्रिय भेला उनलाई कारबाही गरिसकेको छ। त्यो कारबाही निर्वाचन आयोगले मान्यता दिन बाँकी छ।
उल्टो इतिहास
नाउपाको इतिहास रच्ने सपना अहिले सुल्टो गतिमा छैन। ०७८ मा पार्टी स्थापना गरी वर्षदिनमै संसदीय राजनीतिमा उदाएर इतिहास रचेको नाउपा अहिले आन्तरिक कलहमा फस्ता गति उल्टो भइदिएको छ।
नाउपाको गति कुन अवस्थामा पुगेको छ, त्यो उसकै डिजिट प्लाटफर्म (वेवसाइट)ले देखाइदिएको छ, मुख छोपेर। ‘नागरिक उन्मुक्ति पार्टी डट ओराजी’ (www.nagrikunmuktiparty.org) नामको वेवसाइट बन्द भएको दुई वर्ष भइसकेको छ।
नाउपाको इतिहास रच्न गरिएको आग्रह नागरिकहरू दुई वर्षदेखि सहज देख्न पाइरहेका छैनन्। अर्काइभमा भेटिने यस्ता आग्रह र प्रतिवद्धताहरू अहिले नाउपाका लागि नसुहाउने भएकै कारण सायद यस पार्टी अहिले वेवसाइट बन्द गर्ने अवस्थामा पुगेको छ।
अर्काइभमा भेटिने पार्टीको परिकल्पना आफैका लागि नसुहाउने अवस्थामा छ। जहाँ भनिएको छ, ‘दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनु पर्ने अवस्थाको अन्त्य गरी नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गर्दछ’,

नाउपाको वेवसाइट / अर्काइभबाट
नेपाली समाजको प्रतिनिधित्व गर्ने पार्टी आफै भित्र उल्झनमा छ। संघदेखि प्रदेशका सांसदमाथि भ्रष्टाचारको आरोप लागेको छ। लिचीबारी घुसकाण्डमा अध्यक्ष श्रेष्ठ मुछिएपछि उनलालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सोधपुछ गरिसकेको छ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकैबेला कास्कीको लिचीबारी हडप्न सहयोग गरेको उनीमाथि आरोप छ।
२०७९ को आमनिर्वाचनमा नाउपाले संघमा ४ सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेशमा १ जना गरी १२ सिट जितेको थियो। सुदूरपश्चिम सरकारमा गएका नाउपाका दुई मन्त्री पनि भ्रष्टाचारमा मुछिएका छन्।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएको समयमा रामेश्वर चौधरी भ्रष्टाचारमा मुछिएका थिए। प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिनसक्ने छलफल गरेको अडियो सार्वजनिक भएपछि गएको चैत १६ गते उनले राजीनामा दिएका थिए।
यस्तै नाउपाका सुदूरपश्चिमकै अर्का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी घुस खाएको आरोपछि असार १९ गते बर्खास्तीमै परेका थिए। उनी अघिल्लो पटक कृषिमन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएपछि बर्खास्तीमा परेका थिए।
यो पनि–
सुदूृरपश्चिमः हप्तैपिच्छे दलको नेता फेर्दै नागरिक उन्मुक्ति
जनमत–नाउपा एकता टर्दैः सिके राउत मधेशमा व्यस्त, चुपचाप रेशम–रञ्जिता