
हाम्रो समाजमा हिंसा एक जटिल र गम्भीर समस्या हो। घरभित्रदेखि सडकसम्म, विद्यालयदेखि कार्यस्थलसम्म हिंसाका घटना बढ्दो क्रममा देखिन्छन्। कहिलेकाहिँ शान्त स्वभावका देखिने व्यक्तिहरू पनि अचानक हिंस्रक बन्छन् जसले धेरैलाई आश्चर्यमा पार्छ। के मानिस जन्मजातै हिंस्रक हुन्छ त? कि परिस्थितिले यस्तो बनाउँछ? यस लेखमा हिंसाको मनोवैज्ञानिक पाटो, समाधानका उपायहरू र समाजले ध्यान दिनुपर्ने कुराहरूको चर्चा गरिएको छ।
मानिस हिंस्रक हुनुका धेरै कारणहरू हुन्छन्। सबैभन्दा महत्वपूर्ण पक्ष हो- व्यक्तिको मानसिक अवस्था र बाल्यकालका अनुभवहरू। जो बाल्यकालमा हिंसा, उपेक्षा वा दुर्व्यवहारको शिकार हुन्छन्, उनीहरूमा डर, क्रोध र असुरक्षा गहिरो रूपमा बस्छ। यस्ता अनुभवले मानसिक घाउ बनाउँछ र भविष्यमा हिंस्रक व्यवहारको जरा गाड्छ।
यसका साथै, क्रोध नियन्त्रण गर्न नसक्ने, निराशा र जलन झेल्न नसक्ने क्षमता पनि हिंसात्मक व्यवहारको कारण बन्न सक्छ। केही अवस्थामा मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेशन, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर वा नशाको लतले पनि व्यक्तिलाई हिंस्रक बनाउँछ।
सामाजिक परिवेश र वातावरणले पनि एकदम महत्वपूर्ण भूमिका खेल्छ। यदि व्यक्तिको वरिपरि हिंसा सामान्य मानिन्छ, जस्तै – टेलिभिजन, चलचित्र, खेल, वा आफ्नै परिवारमा— भने उसले हिंसालाई एक स्वाभाविक व्यवहारको रूपमा सिक्न सक्छ। त्यस्तै गरी बेरोजगारी, गरिबी, सामाजिक विभेद वा अन्यायले मानिसमा आक्रोश सिर्जना गर्छ, जुन अन्ततः हिंसाको रूपमा बाहिर आउन सक्छ। यी सबै कारणहरू मिलेर मानिस हिंस्रक बन्न सक्छ।
तर, हिंसा समाधान होइन, यो त अर्को समस्या हो। त्यसैले हिंसा घटाउनका लागि व्यक्तिमा आत्म–नियन्त्रण र भावनाको पहिचान र विकास गर्नु अत्यन्त जरुरी छ। यदि हामी आफ्ना भावना चिन्न, बुझ्न र सकारात्मक रूपमाअभिव्यक्त गर्न सिक्यौं भने हिंसा टार्न सकिन्छ। यसका लागि ध्यान, योग, स्वस्याहार गतिविधिहरु, लेखन, वा खेलकुद, व्यायामजस्ता माध्यम उपयोगी हुन सक्छन्।
साथै, हिंस्रक व्यवहार देखाउने व्यक्तिलाई समयमै काउन्सेलिङ सेवा उपलब्ध गराउनु पनि महत्त्वपूर्ण हुन्छ जस्ले व्यक्तिलाई उसको समस्या समाधानको लागि सहयोग गर्नको साथै ठुलो घटना हुनबाट जोगाउन सकिन्छ।
मानसिक स्वास्थ्य सेवा, व्यवहार परिवर्तन कार्यक्रमहरू र समुदायस्तरमा सञ्चालन हुने हिंसा निवारण पहलहरू अत्यन्तै आवश्यक र प्रभावकारी हुन्छन्। धेरैजसो हिंसात्मक घटनाहरूको पृष्ठभूमिमा मानसिक स्वास्थ्य समस्याहरू जोडिएका हुने सम्भावना रहन्छ। तर, आज पनि हामीले हिंसालाई त्यो दृष्टिकोणबाट हेर्ने र विश्लेषण गर्ने प्रवृत्ति अपनाएका छैनौं।
हिंसाको न्यूनीकरण र रोकथामका लागि केवल कानुनी कदमहरू मात्र पर्याप्त हुँदैनन्। यसका अतिरिक्त, विद्यालय, परिवार, मिडिया, र सामाजिक सञ्जालहरूले पनि सकारात्मक सोच र व्यवहार विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।
हिंसाको न्यूनीकरण र रोकथामका लागि केवल कानुनी कदमहरू मात्र पर्याप्त हुँदैनन्। यसका अतिरिक्त, विद्यालय, परिवार, मिडिया, र सामाजिक सञ्जालहरूले पनि सकारात्मक सोच र व्यवहार विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।
शुरूबाटै बालबालिकाको प्रारम्भिक जीवनबाटै सहिष्णुता, आत्म–नियन्त्रण, भावनात्मक सहयोग र शान्तिपूर्ण संवाद जस्ता जीवन सीपहरू सिकाउनु आवश्यक छ। शिक्षाले केवल ज्ञान नभई व्यवहार पनि निर्माण गर्छ, त्यसैले विद्यालयहरूमा पाठ्यक्रमसँगै व्यवहार परिवर्तनका कार्यक्रम समावेश गरिनुपर्छ।
परिवारको सन्दर्भमा, घरभित्र कराउने, पिट्ने वा डर देखाएर नियन्त्रण गर्ने परम्परागत शैलीले बालबालिकाको आत्मबल, भावनात्मक सुरक्षा, र सामाजिक व्यवहारमा नकारात्मक असर पार्छ। यस्तो व्यवहारले भावी पुस्तामा हिंस्रक प्रवृत्तिको बीउ रोप्न सक्छ। त्यसैले, अभिभावकहरूलाई पनि सकारात्मक अनुशासन र समझदारीको अभ्यास गर्न आवश्यक छ।
सामाजिक सञ्जाल र मिडिया आजको युगमा शक्तिशाली माध्यम हुन्। यिनले हिंसालाई प्रोत्साहन गर्ने भएकोले कारण यस माध्यबाट सहानुभूति, सम्मान, र विविधता स्वीकार गर्ने मूल्यहरू प्रचार गर्नुपर्ने आवश्यकता छ।
समाजमा हिंसाको अन्त्यको बाटो एक्लो प्रयासबाट होइन, समन्वय र सहकार्यबाट मात्रै सम्भव हुन्छ। अभिभावक, शिक्षक, नीतिनिर्माता, मिडिया, सामाजिक संस्था, र सम्पूर्ण समुदाय मिलेर सहकार्य गरेमामात्र हामीले हिंसामुक्त समाज निर्माण गर्न सक्छौं।
अन्ततः हामीले बुझ्नुपर्ने कुरा के हो भने—हिंसा कुनै पनि समस्याको समाधान होइन, त्यो आफैँ एक गम्भीर समस्या हो। हिंसाले व्यक्तिमात्र होइन, समाजभित्र पनि भय, अविश्वास, असमानता र विघटन फैलाउँछ। मानिस हिंस्रक बन्नुका पछाडि गहिरा मनोवैज्ञानिक, सामाजिक वा पारिवारिक कारणहरू लुकेका हुन्छन्, जसलाई बुझेर मात्र दिगो समाधानको आधार तयार गर्न सकिन्छ।
यसैले, हिंसा रोक्नका लागि हामी सबैको साझा प्रयास, सचेतता, सहानुभूति, र सहकार्य अपरिहार्य छ।
(मनोविद् पुरी नयाँ यात्रा नेपालकी अध्यक्ष हुन्।)