काठमाडौँ- कुलिङ पिरियड छानबिन समितिमा प्रतिवेदन लेखनका क्रममा रस्साकस्सी भएको छ।
समितिले प्रतिवेदन लेखनका क्रममा त्रुटि भएको निष्कर्ष निकालेको छ तर कारबाहीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा मतभेद भएको हो।
आइतबार बिहान ७:३० बजेदेखि बसेको समिति बैठक १ बजे खाना खान स्थगित भएको थियो।
खाना खाएपछि सत्ता पक्षका सांसदहरू छुट्टै छलफलमा जुटेका छन्। उनीहरू कहाँ छलफल गरिरहेका छन् भन्नेबारे थाहा नभएको विपक्षी दलका सांसदहरूले बताएका छन्।
प्रतिपक्षका सांसद्हरू माओवादीका माधव सापकोटा, राप्रपाका रोशन कार्की र रास्वपाका गणेश पराजुली भने बैठक कक्षमा सत्ता पक्षका सांसद्हरू कुरेर बसेका छन्। कुलिङ पिरियड छानबिन समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ तथा नेकपा एमालेका नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती सत्ता पक्षबाट सदस्य छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कुलिङ पिरियड छानबिन समितिमा रहेकी रोशन कार्कीले सत्ता पक्षका सांसद् कुनै जानकारीबिना हराएको बताइन्। ‘चारपटक फोन गरिसक्यौँ, उहाँहरूले फोन नै उठाउनुभएको छैन,’ कार्कीले भनिन्।
संघीय निजामती विधेयकको प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिको अन्तिम प्रतिवेदन लेखनका क्रममा रस्साकस्सी भएको हो।
विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्न गरेको निर्णणलाई निष्प्रभावी बनाउने गरी प्रतिवेदत तयार भएको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २३ गते सात सदस्यीय समिति बनाएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































