
काठमाडौँ- नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित सुप्रभात काव्य गोष्ठी सम्पन्न भएको छ।
इजी वे सहकारी संस्थाको अद्वैतमार्गस्थित सभाहलमा आयोजित कार्यक्रममा युवा साहित्यकार डा. रमेश शुभेच्छुकलाई “नागार्जुन बाङ्मय जदौ पुरस्कार” प्रदान गरिएको छ। पुरस्कारमा नगद रु. १५,०१५ र प्रमाणपत्र समावेश थियो।
कार्यक्रममा कवि पूर्ण विरामका कविता वाचन गरिए, जसमा उत्कृष्ट वाचनका लागि यम बास्तोलालाई नगदसहित पुरस्कृत गरिएको छ। साथै, देवकुमारी लुइटेललाई दाहालका कविता वाचनका लागि प्रशंसा-पत्रद्वारा सम्मान गरिएको छ।
डा. दाहाल यज्ञनिधिको ७२औं जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा डा. तुलसी भट्टराई प्रमुख अतिथि थिए। कार्यक्रम अध्यक्षता दिल पौडेलले गरेका थिए ।
कविता, समीक्षा र वाचनका विविध आयाममा समर्पित स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको समारोहमा समीक्षक प्रा. प्रयागराज वाशिष्ठ र डा. विनोद मञ्जनलाई समेत सम्मान गरिएको थियो।