
काठमाडौँ – काठमाडौँ मेडिकल कलेजमा एक युवतीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–१ का ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्।
कलेजो प्रत्यारोपण काठमाडौँ मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो।
कलेजो प्रत्यारोपण डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल, तथा एनेस्थेसियोलोजिस्ट डा. सुजता निरौलालगायतको दक्ष टोलीले सहभागी थियो।
रक्षा विगत सात वर्षदेखि जीवन र मृत्युको संघर्ष गरिरहेकी थिइन्। उनका बुबाले नेपाली कांग्रेस सांसद डा. सुनिल शर्माले निःशुल्क कलेजो प्रत्यारोपणको व्यवस्था गरिदिएको बताए। काठमाडौँ मेडिकल कलेज डा. शर्माको स्वामित्वमा रहेको संस्था हो।
शर्माले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्ने गरेका छन्।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ।
उनले हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।