
झापा – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले केन्द्र सञ्चालनका लागि स्रोत जुटाउने उद्देश्यले आफ्नो आत्मकथा ‘सपना, सङ्घर्ष र आविष्कार’ बेच्दै देशव्यापी यात्रामा छन्।
आफ्नो यसै अभियानको क्रममा झापामा तीन साता बिताएर फर्किने क्रममा उनी भावुक र हास्यव्यङ्ग्य मिश्रित अनुभव बाँडिरहेका छन्।
झापामा रहँदा उनलाई विभिन्न संघसंस्था र स्थानीय समुदायले भव्य स्वागत गरेका छन्। स्थानीय बासिन्दाहरूले उनको आत्मकथा खरिद गर्दै राष्ट्रिय आविष्कार केन्द्रको स्थायी सञ्चालनको पहललाई साथ दिएका छन्।
डा. पुनले पुस्तक बिक्रीबाट उठेको पैसालाई व्यावसायिक नभई सेवामूलक अभियानका रूपमा व्याख्या गरेका छन्।
सोमबार बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘म एउटा अभियान लिएर हिँडेको मान्छे हुँ। तपाईंहरू एक-एक प्रति किन्नुहुन्छ भने त्यो मेरो लागि करोडौँको साथ हो।’
उनले स्थानीय बासिन्दा तथा संघसंस्थाहरूलाई आफूलाई नजिकबाट चिन्न, अभियान बुझ्न, र सकेसम्म एक-एक प्रति पुस्तक खरिद गरेर राष्ट्रिय आविष्कार केन्द्रको सपना साकार पार्न सहयोग गर्न आग्रह गरे।
पुस्तक बिक्री अभियानका तीन मुख्य कारण
महावीर पुनले आफ्नो पुस्तक बेच्दै हिँड्नुका तीन मुख्य कारणहरू पनि खुलाएका छन्:
१. कृषि औजार कारखाना सञ्चालन: वीरगञ्जमा रहेको कृषि औजार कारखानालाई सञ्चालन गरी साना किसानका लागि आवश्यक औजारहरू निर्माण गर्ने।
२. युवाको मानसिकतामा परिवर्तन: युवाहरूलाई उद्यमी बन्न र नयाँ सोचका साथ अघि बढ्न प्रेरित गर्ने।
३. राष्ट्रप्रतिको प्रेम: मातृभूमिप्रतिको प्रेम बढाउँदै राष्ट्रलाई कसरी योगदान दिन सकिन्छ भन्ने जागरुकता फैलाउने।
उनले पुस्तक बिक्रीबाट उठेको रकमले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन भइसकेको जानकारी दिए। हाल कारखानाले ४२ जनालाई रोजगारी दिएको र निकट भविष्यमा डेढ सय जना कर्मचारी आवश्यक पर्ने उनले बताए।
यस अभियानबाट अहिलेसम्म कारखाना सञ्चालनका लागि १२ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनले जानकारी गराएका छन्।