
काठमाडौँ – नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी नसर्ने रोग धेरै देखिने गरेको छ।
नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन्।
तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ। प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन्।
नेपालमा आजभन्दा १५ वर्षअघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो। सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६ मा त झन् बढेर ६६ प्रतिशत पुगेको जनाइएको छ। सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१ दशमलव एक प्रतिशत हिस्सा नसर्ने रोगको भागमा परेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनमा उल्लेख छ।
नसर्ने रोगको उपचारमा हुने खर्च अत्यधिक हुने गर्दछ र स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चमध्ये सबैभन्दा बढी खर्च नसर्ने रोगमा नै हुने गरेको देखिएको छ। विश्वमा नसर्ने रोगका कारण वार्षिक ४३ लाख व्यक्तिको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्ममा विश्वव्यापी मृत्यु गराउने पाँच प्रमुख कारण नसर्ने रोग नै हुने अनुमान गरेको छ।
नसर्ने रोग धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषणले निम्त्याउने गरेको छ।