पुटिन-ट्रम्प भेटअघि युक्रेनको विषयमा युरोपेली समर्थ जुटाउने प्रयासमा भेन्स

पुटिन-ट्रम्प भेटअघि युक्रेनको विषयमा युरोपेली समर्थ जुटाउने प्रयासमा भेन्स
+
-

अमेरिकी उपराष्ट्रपति जे.डी. भेन्स र बेलायती विदेशमन्त्री डेविड लाम्मीले युक्रेन युद्धबारे छलफल गर्न लन्डनमा एक महत्त्वपूर्ण सुरक्षा बैठकको आयोजना गरेका छन्।

यो बैठक युक्रेनी अधिकारी र युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको उपस्थितिमा भएको हो। यो वार्ता अमेरिकाको आग्रहमा बोलाइएको थियो, जसले ट्रम्प र पुटिनबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा शान्ति प्रक्रियालाई आकार दिन युरोपेली देशहरुको सहयोग खोज्ने ट्रम्प नीति अनुसार भएको देखिन्छ।

लन्डनको केन्टस्थित बेलायती विदेश मन्त्री लाम्मीको सरकारी निवासमा भएको यो बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माक सहभागी थिए। उनीहरूसँगै बेलायत, अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र नाटोका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। बैठकअघि बेलायती प्रधानमन्त्री कियर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोनमा कुरा गर्दै यसलाई शान्तिको दिशामा प्रगति गर्ने ‘महत्त्वपूर्ण मञ्च’ भन्दै उनलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

यस वार्ताको मूल उद्देश्य १५ अगस्टमा अलास्कामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर सम्मेलनको तयारी गर्नुथियो। यो सम्मेलनमा युद्धको भविष्यबारे छलफल हुने छ, जसमा ट्रम्पले युद्ध अन्त्य गर्न युक्रेनले केही भू-भाग छाड्नुपर्ने संकेत दिएका छन्। ट्रम्पको यो अडानले युक्रेन र उसका युरोपेली सहयोगीहरूमा चिन्ता बढाएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने कुनै पनि भू-भागीय सम्झौता नगर्ने स्पष्ट पारेका छन्। उनले ट्रम्पको खुला आलोचना नगरे पनि आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो अडान स्वीकार्य नहुने संकेत दिएका छन्। शनिबार टेलिग्राममा उनले लेखे,’युक्रेनीहरूले आफ्नो जमिन कब्जा गर्ने अनुमति र सम्झौताहरू कहिल्यै स्वीकार गर्दैन्।’ उनले शान्तिका लागि कुनै पनि समाधानमा युक्रेनको सहभागिता अनिवार्य हुनेमा जोड दिएका छन्।

शनिबार राति धेरै युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रतिको आफ्नो अटल समर्थन दोहोर्याए। बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, फिनल्यान्डका नेताहरू र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले संयुक्त रूपमा ‘युक्रेनमा शान्तिको बाटो युक्रेनबिना तय गर्न नसकिने’ प्रस्ट पारे। उनीहरूले अन्तर्राष्ट्रिय सिमाना बलपूर्वक परिवर्तन गर्न नपाइने र युक्रेनलाई कूटनीतिक, सैन्य र आर्थिक सहयोग जारी रहने बताएका छन्।

यस वक्तव्यले ट्रम्प र पुटिनले युक्रेनको अनुपस्थितिमा सम्झौता गर्ने प्रयास गरेमा युरोपले त्यसलाई स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले पनि सामाजिक सञ्जालमा युक्रेनको भविष्य ‘युक्रेनीहरूको सहभागिताबिना’ तय गर्न नसकिने बताएका छन् र युरोपेलीहरू पनि समाधानको अनिवार्य अंश हुनेमा जोड दिएका छन्।

रुसले निरन्तर युक्रेनले केही भू-भागमा रुसको सार्वभौमिकता स्वीकार गर्नुपर्ने, निरस्त्रीकरण गर्नुपर्ने र नाटोमा सामेल हुने आकांक्षा त्याग्नुपर्ने माग गर्दै आएको छ। ट्रम्पको अडान पनि लामो समयदेखि युक्रेनले भू-भाग त्यागेर शान्ति कायम गर्नुपर्नेमा केन्द्रित छ।

यद्यपि, बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले एक वरिष्ठ ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, ट्रम्प-पुटिन बैठकमा जेलेन्स्की कुनै न कुनै तरिकाले सहभागी हुने सम्भावना अझै बाँकी छ। युक्रेनभित्र भने युद्धको थकान भएपनि कुनै पनि मूल्यमा शान्ति स्वीकार गर्न तयार रहेको प्रमाण कमै देखिन्छ, विशेषगरी युक्रेनको आवाज नसुनी उसमाथि शान्ति प्रयास लादिने जोखिम रहेको छ।

युक्रेन र उसका साझेदारहरूका लागि अहिलेको मुख्य चुनौती भनेको ट्रम्प र पुटिनबीचको बैठकबाट आउन सक्ने सम्भावित निर्णयहरू र त्यसले युक्रेनको सार्वभौमिकतामा पार्ने प्रभावहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो। जेलेन्स्कीले शनिबारको बेलायत बैठकलाई ‘रचनात्मक’ भनेका छन्, जसले युक्रेन र उसका सहयोगीहरूबीचको समन्वय अझ बलियो भएको देखाउँछ। अब सबैको ध्यान अलास्कामा हुने शिखर सम्मेलनमा केन्द्रित छ, जहाँ विश्वको नजर युक्रेन युद्धको भविष्यबारे हुने वार्ताको टिकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?