
हुम्ला – हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ। कर्णाली करिडोरको खार्पुमा निर्माण भएको बेलिब्रीज सञ्चालनमा आएपछि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग सिधै जोडिँदा ग्यासको मूल्यमा कमी आएको हो।
सिमकोट बजारकी स्थानीय कुन्डोला भण्डारीले सिमकोटमा सिधै नेपालगञ्ज र सुर्खेतबाट गाडी आउन थालेपछि ग्यासको मूल्यमा कमी आएर उपभोक्तालाई राहत पुगेको बताए।
गत पुस महिनाका एक सिलिण्डर ग्यास भरेका तीन हजार तिरेकी भण्डारीले तीन दिन अगाडि सोही सिलिण्डर ग्यास भर्दा दुई हजार सात सय मात्र तिर्नुपरेको थियो। सडक जोडिएपछि एउटा सिलिण्डर ग्यास भर्दा तीन सय रुपियाँ कम तिर्नुपरेको जानकारी दिँदै उनले महँगी घटाउने काम सडक सञ्जाल जोडिँदा भएको बताइन्।
ग्यासको मूल्य घटेपछि यसको उपभोक्ता पनि बढेको बताउदै अर्का स्थानीय पानकली सुनारले शहरको तुलनामा ग्यासको मूल्य बढी भए पनि पहिलेको तुलनामा आधाभन्दा पनि बढी मूल्य घटेको बताइन्। अझै बाटो सहज भए त्यसको मूल्य घट्ने विश्वास उनको छ।
ग्यास ब्यापारी तीर्थ बुढाले सुर्खेतमा ग्यासका सिलिण्डर लोड गरिएको गाडी सिधै सिमकोट पुग्न थालेपछि मूल्यमा घटाउनुपरेको बताए। यसअघि पुरानो सिलिण्डर भरेको प्रतिसिलिण्डर तीन हजार रुपैयाँ लिने गरिएकोमा अहिले दुई हजार सात सय मात्र लिदै आएको बताउँदै उनले नयाँ ग्याससहितको सिलिण्डर पनि चार हजार पाँच सयमा बिक्री गर्न सुरु गरिएको बताए।
जबकि खार्पुमा बेलिब्रीज जोडिनु अघि नयाँ ग्यास सहितको एउटा सिलिण्डर किन्दा पाँच हजार तीन सय रुपियाँ तिर्नुपथ्र्यो। सिमकोटभन्दा माथिल्लो र तल्लो हुम्लामा दूरीअनुसार मूल्य लग्ने गरिएको छ। सुरुमा हुम्लामा ग्यास मुुगुको गमगढीबाट खच्चडमा ढुवानी गरेर भित्रिदा एउटा सिलिण्डरको मूल्य चौध हजार रुपियाँसम्म पर्ने गथ्र्यो। त्यसपछि हुम्ला जिल्ला बिस्तारै सडक सञ्जालसंग जोडिदा मूल्य पनि बिस्तारै घट्दै आएको थियो।