
हुम्ला – कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकको मान्म–बिहानी खण्ड पहिरोले अवरुद्ध भएको छ।
सोमबार बिहान खाँडाचक्र नगरपालिका–५ कालिकोटमा पर्ने बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुबाट सुर्खेत जान आएका गाडी रोकिएका छन्।
रातिदेखि पानी परेकोले पहिरो गएको कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए। पहिरो हटाउन पिलीबाट एक्जाभेटर आइसकेको छ। पहिरो हटाएपछि अवरुद्ध सडक खुल्ने बताइएको छ।
पहिरो हटाउन आधा घण्टाभन्दा बढी समय लाग्ने उनको भनाइ छ। तर, यात्रुहरूले भने डोजर आउँछ भने पनि ढिलासम्म नआएको गुनासो गरेका छन्।
सडक अवरुद्ध भएकोले जुम्लातर्फ जाने गाडी ताडी बजारमा रोकिएका छन्। पानी परेको दिन पहिरो झरेर कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ।