स्वस्थ जीवनका लागि आधारभूत अभ्यासहरू

स्वस्थ जीवनका लागि आधारभूत अभ्यासहरू
+
-

स्वास्थ्य राम्रो राख्नका लागि दैनिक जीवनमा केही आधारभूत अभ्यासहरूको पालना गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सही खानपान, नियमित व्यायाम, सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, सरसफाइ, सकारात्मक चिन्तन र अन्य स्वस्थ्य जीवनशैलीका उपायले स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ। यी अभ्यासहरूले स्वास्थ्यलाई स्वस्थ राखेर औषधिको प्रयोगलाई टाढा राख्न सकिन्छ। सामान्य ज्वरो, दुखाई, रुघाखोकी, मौसमी समस्याहरूमा औषधिको आवश्यक नपर्न सक्छ, केही समयपछि आफै निको भएर जान्छ। यस्तो अवस्थामा नआत्तिकन आफ्नो व्यवस्थित जीवनशैलीमा निरन्तरता दिने, घरेलु उपचार पद्धतिहरू अपनाउने गरौँ। पर्याप्त पौष्टिक आहार, पर्याप्त पानी, निरन्तर शारीरिक व्यायाम, योग-प्राणायाम र हाम्रा भान्साका औषधिहरू अदुवा, बेसार, ज्वानो, कालो मरिच, सुकमेल, दालचिनी आदिको काढा बनाएर सेवन गर्ने गरौँ। यदि तीन दिनदेखि एक हप्तासम्ममा सन्चो भएन भने नजिकैको स्वास्थ्य संस्थामा जाने गरौ।

दाल तथा विभिन्न प्रकारका गेडागुडीहरू, तोफु, क्विनोआ, दूध, दही, पनिर, चिज, बदाम, ओखर, ओट्स र जौ आदि प्रोटीनयुक्त खाना सेवन गरौ। आवश्यक पर्याप्त कार्बोहाइड्रेट प्राप्त गर्न चामल, गहुँ, मकै, आलु आदिको सन्तुलित सेवन गरौ। खानामा फाइबरको मात्रा बढाउन सागसब्जी, फलफूल, र होल ग्रेनको मात्रा बढाऔ। साकाहारी जीवन पद्धति अपनाइरहेकाहरूले प्रोटिनको अभाव होला कि भनेर आत्तिनु पर्दैन। दाल अन्य गेडागुडीहरु, तोफु आदिमा पर्याप्त प्रोटिन हुन्छ। खानासँग सकिन्छ भने ५०% जति नपकाएको काँचो कुराहरु जस्तै सलाद, फलफुल, हरियो साग, भिजाएका तथा टुसाएका गेडागुडीहरू  वा अन्य त्यस्तै कुराहरू काचै खाने गरौँ।

वनस्पतिहरूबाट मान्छेमा सर्न सक्ने रोगहरू बिरलै छन्। तर जनावरबाट मान्छेमा सर्ने रोगहरू धेरै छन्। त्यसैले काँचो मासुहरू, र जनावरबाट आउने अन्य स्रोतहरूबाट विभिन्न रोगहरू फैलिन सक्ने सम्भावना बढी हुन्छ। सकिन्छ भने साकाहारी जीवन पद्धति अपनाउने गरौ। साँझको खाना सूर्य नअस्ताउँदै र सकिन्छ भने आधा पेट मात्र खाऔँ, जसमा पनि माथि भनिएझैँ ५०% काँचो सेवन गरौ। खाना खाएको र सुत्ने समय कम्तीमा ४ घण्टाको फरक गरौँ। ताकि  तपाईँको खाना पेटबाट आन्द्रामा प्रवेश गरिसकोस्। बिहान सूर्य उदाउनुभन्दा अगाडि नै उठिसकेर पानी पिउने गरौँ। बिहानै चिनी, चियापत्ती, कफी, दूध मिसावट गरी बनाइएका कुराहरूबाट टाढा रहौँ। योग, ध्यान, व्यायाम, प्राणायाम निरन्तर गरौँ। साँझको खाना र बिहानीको खानाको अन्तर १६ घण्टाको बनाउने प्रयास गरौं। जस्तै साँझ ६ बजे खानुभएको थियो भने बिहानको खाना १० बजेतिर पर्याप्त मात्रामा खाऔँ।

जब हाम्रो छाला सूर्यको प्रकाशमा भएको युभि (UV)  किरणको सम्पर्कमा आउँछ तब शरीरमा भएको कोलेस्टेरोलबाट भिटामिन डी (vitamin D) बन्ने गर्छ। पछि कलेजो र किड्नीमा थप परिवर्तित भई हामीलाई आवश्यक पर्ने भिटामिन डी बन्ने गर्छ। भिटामिन डी का अन्य कार्यहरू सँगसँगै यसको  प्रमुख कार्य भनेको क्याल्सियम (calcium) शोषणमा मद्दत गर्नु पनि हो। तपाईँले जतिसुकै क्याल्सियम भएको खानेकुरा खाए पनि तपाईँको शरीरमा पर्याप्त भिटामिन डी छैन भने क्याल्सियम शरीरले सोस्न सक्दैन। त्यसैले बिहान सबेरै उठेर पर्याप्त घाम ताप्ने बानी अनिवार्य बसालौँ। तपाईँको कामको अवस्था हेरी घामसँग सम्पर्कमै आउन नसकिनेछ भने कृत्रिम रुपमा बजारमा पाइने भिटामिन डी र क्याल्सियम खाने गरौं। क्याल्सियम र भिटामिन डीको अभावले गर्दा हड्डी तथा मांसपेशीहरू कमजोर हुनुका साथै  अनेक समस्याहरू आउन सक्छन्।

वार्षिक रूपमा स्वास्थ्य परीक्षण गर्ने गरौं। शरीरमा भिटामिनको मात्रा कति छ र मिनरल्सहरूको अवस्था कस्तो छ भन्ने यकिन गरौं। यी सबै जानेपछि अवस्था थाहा पाइन्छ र त्यही अनुसार आवश्यक परे मात्र भिटामिनको सेवन गरौं। होल बडी चेक भनेर मार्केटिङ भएको भेटिन्छ, यसमा धेरैजना झुक्किएर साँच्चिकै हुन्छ कि भन्ने लाग्छ। गलत प्रचार हो यो। यो मानव शरीरका धेरै कुराहरू आधुनिक विज्ञानले बुझ्नै सकेको छैन। त्यसैले पूर्ण चेक भन्ने केही पनि हुँदैन। सामान्यतया प्रमुख समस्यामा केन्द्रित भएर मुखको चेक जाँच, रगत तथा पिसाबको चेकजाँच, प्रमुख हर्मोनहरू र इन्जाइमहरूको चेकजाँच, शरीरका विभिन्न अङ्गहरूको चेकजाँच, शरीरमा तौल वृद्धिको अवस्था, शरीरमा चिनी तथा बोसोपनाको अवस्था आदि कुराहरू पर्छन् जुन निरन्तर रूपमा चेक गर्ने गरौँ।

दिनानुदिन बढ्दै गइरहेका स्वास्थ्य समस्याको प्रमुख कारण गुलियो नुनिलो खानेकुरा धेरै खानु पनि हो। धेरै गुलियो खाना र पेय पदार्थहरू जस्तै: चिनी, मिठाई, कार्बोनेटेड ड्रिंक्स कम गरौ। त्यस्तै बढी नुनयुक्त खाना जस्तै: चिप्स, जंक फूड, प्रोसेस्ड फूड कम गरौ। हामीले हाम्रो जिब्रोमा/ मुखमा के राख्छौं, त्यसमा मात्र हाम्रो नियन्त्रण छ। एकचोटि त्यहाँबाट तल गइसकेपछि हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ। हामीले सही खाना चयन गरेनौँ, सही जीवन पद्धति अपनाएनौ भने, खानारुपी विषलाई शरीरमा प्रवेश गराउँछौ। अन्तत त्यसको परिणाम हामीले भोग्छौ। बढ्दै गइरहेको औषधिको माग पनि तपाईं हाम्रो आलस्य जिब्रोलाई नियन्त्रण गर्न नसक्नुको परिणाम हो। 

हरेकपटक खाना खाइसकेपछि मुखको सरसफाइ अत्यन्तै राम्रोसँग गरौँ। हरेक दिन खाना खाइसकेपछि ब्रश गरौ। रातिमा सुत्नुभन्दा अगाडि अनिवार्य ब्रस गर्ने बानी बसालौ। आमजनमा किराले दाँत खायो भन्छन्, यस्तो होइन। तपाईँको मुखमा रहेको खानालाई ब्याक्टेरियाले खान्छ र त्यसले एसिड/अम्ल पैदा गर्छ। त्यो एसिडले तपाईँको दाँतको इनामेललाई बिस्तारै नष्ट गर्दै लैजान्छ। त्यसैले यदि तपाईँको मुखमा कुनै बचेको खाना छैन भने, ब्याक्टेरियालाई खानका लागि केही पनि भएन, त्यो भएन भने एसिड बन्ने कुरा भएन, स्वाभाविक रूपमा तपाईँको दाँतको स्वस्थता सुनिश्चित भयो। त्यसैले सुत्नु अगाडि अनिवार्य रूपमा ब्रस गरौं।

त्यसैगरी हात नङको सरसफाइमा निकै ध्यान पुर्‍याऔ। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि अनिवार्य हात धोऔ। नङहरू काटेर सफा राखौ। सकिन्छ भने हात मिलाउने, अङ्कमाल गर्नुको साटो नमस्ते गरौं। चिनेकै साथीहरू त हुन् नि भनेर अरुको जुठो खाने नगरौँ। साथी आफ्नो भएपनि रोग आफ्नो हुँदैन भन्ने कुरा ख्याल गरौं।

सामान्य रुघाखोकी, दुखाइ आदिमा औषधिको प्रयोग नगरौँ। बरु हाम्रा भान्साका जडीबुटीहरूको झोल खाऔँ। अदुवा र महको मिश्रण सेवन गरौँ। थोरै नुन र बेसार राखेर तातो पानीको गार्गल गर्नाले मुख तथा घाँटी सम्बन्धी समस्याहरूबाट राहत पाउन सकिन्छ।  अनुलोम-बिलुलोम सँगै तातो पानीको बाफ लिँदा नाक बन्द हुने समस्या कम हुन्छ। सामान्य चोटपटक लागे तुरुन्त सफा पानीले धुने र एन्टिसेप्टिक लगाउने गरौँ। आवश्यक परे घाउलाई सफा कपडाले छोपेर ब्यान्डेज गरौँ।

आध्यात्मिक मार्ग, सकारात्मक चिन्तन, योग ध्यान प्राणायाम आदिले अधिकांश समस्याहरूको समाधान दिन सक्छ। त्यसैले यस्ता कुरातिर जीवनलाई अग्रसर गराउने गरौँ। भगवद् गीतामा कृष्ण र अर्जुन बीचका संवादलाई हेर्ने हो भने हाम्रा लागि चाहिने धेरै कुराहरू समेटिएका छन्। यो देह, आत्मा, परमात्मा, मन, बुद्धि, इन्द्रिय, चिन्ता र बेचैनीको कारण तथा यसका समाधान लगायत अनेकौँ कुराहरू यसमा समेटिएका छन्। यसलाई कुनै पन्थ सम्प्रदायको ग्रन्थका रूपमा नलिएर पढौँ र आफूलाई उपयोगी हुने ज्ञान ग्रहण गरी स्वस्थ रहौँ।

देख्दा सामान्य लागे पनि अधिकांश हाम्रा स्वास्थ्य समस्याहरू यस्तै सामान्य कुराहरूको लापरवाहीबाट सुरु हुन्छन्। अन्तिम अवस्था पुगेपछि हामी अस्पताल जान्छौँ। आजबाट यी कुराहरूमा प्रण लिउँ र अरुलाई पनि सिकाऔँ। तपाईँको स्वास्थ्यको चिन्ता तपाईँभन्दा बढी अरुले लिन सक्छ र? तपाईँले भोग्ने जति पीडा अरुले भोग्छ र?

सकारात्मक सोचका बारेमा केन्द्रित खप्तड बाबाको पुस्तक “विचार विज्ञान” मा पनि धेरै कुरा समेटिएका छन्, पढौं। किनकि विश्वभर नै मानसिक स्वास्थ्य एक विकराल समस्या भएर आइरहेको छ। सामान्य मानसिक समस्यामा पनि यसलाई जटिल रूप भनेर परिभाषित गर्दै मानसिक रोगीहरू यिनीहरूका कमाई खाने भाँडो बनेका छन्। जसरी वृक्षको जरामा पानी हाल्दा पुरै वृक्षलाई पुग्छ। त्यसैगरी हामीले मूलरूपमा के खान्छौ, हाम्रो पेटमा के हाल्छौ, त्यही अनुसार नै हाम्रो समग्र शरीरले प्राप्त गर्छ र हाम्रो स्वास्थ्य त्यसैमा भर पर्छ। त्यसैले जिब्रोको स्वादको नियन्त्रणमा अत्यन्तै धेरै ख्याल पुर्‍याउँ। योभन्दा तल हाम्रो नियन्त्रण छैन। यो चराचर ब्रह्माण्डमा तपाईँ हामी एक सानो जीव हौ। म यो ब्रह्माण्डको के के न हो भन्ने घमण्ड र अहमताबाट पर रह्यो र केवल विनम्र भावले म अरुका लागि के गर्न सक्छु भन्ने सेवा भाव भयो भने काम, क्रोध, लोभ, मोह, अहंकार आदि सबै कुराहरू कम भएर जान्छन्। परिणामतः हामी हमेशा स्वस्थ, खुसी तथा आनन्दित रहन सक्छौँ।

रातिमा ९ वा ढिलोमा पनि १० बजेभित्र सुतिसक्ने बानी बसालौ र बिहानमा ४ बजे उठिसकौँ। चिन्तामुक्त र आनन्दमय जीवन हामीले बिताउन सक्यौँ भने हामीलाई धेरै निन्द्राको जरुरी पनि पर्दैन। राम्रो बास्ना निकाल्न र शरीरको गन्धलाई छोप्नका लागि अनेक प्रकारका केमिकल छर्किनु भन्दा, बिहानै उठेर हरेक दिन स्नान गर्ने बानी बसालौँ।

जसरी कछुवाले परिस्थिति अनुकुल नहुँदा आफ्ना अङ्गहरूलाई खुम्च्याएर खोलभित्र समेट्छ त्यसैगरी विद्वान मान्छेले आफ्नो स्वास्थ्यलाई अनुकूल नहुने कुराहरूबाट त्यसरी नै टाढिनुपर्छ। धुम्रपान, मध्यपान, लागूऔषध, अनेक केमिकल मिश्रित बजारिया चिजहरू आदिबाट कछुवा जस्तै बुद्धिमान बनी बचौँ, अरुलाई दोष दिने चेष्टा नगरौ।

दिनभरि चुरोट, केमिकल, तमाखु खाने, रातिमा रक्सी पिउने अनि बिहान उठेर योग नामको अवुझता प्रकट गर्ने धेरै छौँ। अष्टाङ्ग योगमा शरीर तन्काउने कार्यहरू केही आसनमा पर्छन्, हामीहरू केवल यिनै आसनमा रुमलिएका छौँ। केही नगर्नुभन्दा यति गर्नु राम्रो हो तर अष्टाङ्गयोगको मूल तत्त्व बुझ्न सक्नुपर्छ। आसन भन्दा अगाडि यम र नियमको कुरा निकै जोडसँग अष्टाङ्गयोगले उठाएको छ। यदि अष्टाङ्ग योगले भनेझैँ यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि लाई क्रमिक रूपमा बुझ्दै र अनुसरण गर्दै गर्यौँ भने हाम्रो जीवनको स्वस्थतामा आमूल परिवर्तन आउँछ।

भर्खरका कलिला युवाहरू हस्तमैथुन र अश्लिल भिडियोहरूको शिकार भएका छन्। कामवासना झन् भन्दा झन् जागृत गराएर अनियन्त्रित हुँदै  समाजमा अनेक घटना घटाएका छन्। बारम्बार हस्तमैथुन गर्नाले शारीरिक तथा मानसिक रूपमा व्यक्ति कमजोर हुन्छ। अश्लील भिडियोहरू बनाउने, यौन टोइहरू बनाउने, यौनाङ्गहरू बढाउने तन्काउने लगायतका कार्यहरू आदिमा धेरैको लगानी छ। तपाईँको इमोसनसँग खेलेर यिनीहरूले विश्वभर पैसा कमाएका छन्। कहिलेकाहीँ तपाईँ एकचित्त भएर आफै सोच्नुस् त, तपाईँको मनलाई तपाईँले नियन्त्रण नगरी कसले गरिदिन्छ? हस्तमैथुन क्रियाले हाम्रो शरीरको प्राकृतिक ऊर्जालाई नष्ट गर्छ, र तपाईँलाई बिस्तारै कमजोर बनाउँदै लैजान्छ, डिप्रेसन, एन्जाइटी बढाउँदै लैजान्छ, केही गर्ने हुटहुटी र जाँगरहरु हराएर जान्छ। त्यसैले यस्ता कार्यहरूबाट बचौँ र अरुलाई पनि बचाऔं।

देख्दा सामान्य लागे पनि अधिकांश हाम्रा स्वास्थ्य समस्याहरू यस्तै सामान्य कुराहरूको लापरवाहीबाट सुरु हुन्छन्। अन्तिम अवस्था पुगेपछि हामी अस्पताल जान्छौँ। आजबाट यी कुराहरूमा प्रण लिउँ र अरुलाई पनि सिकाऔँ। तपाईँको स्वास्थ्यको चिन्ता तपाईँभन्दा बढी अरुले लिन सक्छ र? तपाईँले भोग्ने जति पीडा अरुले भोग्छ र? आफ्नै शरीर अस्वस्थ भइसकेपछि तपाईंको आफ्नो भन्ने पनि अरु रहँदैन। हेरचाह गर्नेहरूले पनि तपाईँलाई बोझको रुपमा ग्रहण गर्छन्। त्यसैले बाँचुन्जेलसम्म स्वस्थ भएर बाँच्ने प्रयत्न गरौँ।

(लेखक डा. जोशी औषधीय रसायन विज्ञानमा विद्यावारिधि तथा भाइरसविरुद्धको औषधि अनुसन्धानमा पोस्टडक्टरल फेलो हुन्। हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रूपमा कार्यरत छन्। उनी  ‘जीवनका लागि गीता अभियान’ का अन्तर्राष्ट्रिय संयोजक तथा औषधिको ज्ञान स्वस्थ ज्यान पुस्तकका लेखक पनि हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?