
पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदका योगदानलाई खेर जान दिन नहुने बताएका छन्। सहिदले सुम्पेका बाँकी कामहरु पूरा गर्ने कार्यभार रहेको उनको भनाइ छ।
मंगलबार तनहुँको भीमाद नगरपालिकामा भएको सहिद कल्याण खनालको २३ औं स्मृति सभा एवं शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सहिद परिवारलाई सम्मान दिनुपर्ने बताए।
‘जीवन बलिदान दिने साथीहरुको योगदान खेर जान दिनु हुँदैन। हामीले उहाँहरुले छोडेर गएको कामहरु अगाडि बढाउनुछ’, उनी भन्छन्, ‘परिवार र उहाँका सन्तानहरुलाई पनि हामीले सम्मान दिनुपर्छ।’
नेपाली कांग्रेसले सहिद परिवारलाई सम्मान दिएको उनको दाबी छ। ‘जो पार्टीका लागि सहिद भएका छन्, पार्टीका लागि ज्यान गुमाउने साथीहरुको परिवारलाई पार्टीले अवश्य नै हेर्नु पर्नेछ। हेरेका पनि छौं। भोलि पनि हेर्नेछौं’, उनको भनाइ थियो।
तनहुँले २००७ सालदेखि सबै क्रान्तिमा महत्वपूर्ण योगदान दिएको देउवाले स्मरण गरे। ‘तनहुँ यस्तो जिल्ला हो, यहाँ २००७ सालदेखि नै यहाँ ठूलाठूला नेताहरु उदय भए’, उनले भने, ‘यहाँ क्रान्तिहरु भए। प्रजातन्त्रका लागि गणतन्त्रका लागि सबभन्दा बढी बलिदान दिने जिल्ला हो।’
सशस्त्र युद्धको बेला माओवादी आक्रमणबाट ज्यान गुमाएका सहिद कल्याण खनालको परिवारलाई पनि पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने देउवाले प्रतिबद्धता दोहोर्याए।
सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले भीमाद नगरपालिका–७ शिवालयटोल प्रहरीचौकीको आडैमा कल्याण खनालको अर्धकद्को शालिक निर्माण गरेको हो।