
पाकिस्तानको अशान्त प्रान्त बलोचिस्तानमा आतंकवादी हमला हुँदा कम्तीमा ९ पाकिस्तानी सैनिकको मृत्यु भएको छ। यो हमला वाशुक जिल्लामा भएको हो, जहाँ आतंकवादीहरूले सुनियोजित ढंगले सुरक्षाबलको टुकडीलाई निशाना बनाएर आक्रमण गरेका थिए।
स्थानीय प्रशासनिक स्रोतका अनुसार, दर्जनौंको संख्यामा आएका आतंकवादीहरूले प्रहरी चौकी र सीमा बल (फ्रन्टियर कोर्प्स) को बेस क्याम्पमा अचानक हमला गरेका थिए। एक वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार हमलाकारीहरूले सेनाको टुकडी यात्रामा रहेको बेलामा लुकेर आक्रमण गरेका थिए। यस भीषण हमलामा सुरक्षाबललाई ठूलो क्षति भएको छ र ९ सैनिकको मृत्युको पुष्टि भएको छ। जवाफी कारबाहीमा कति आतंकवादी मारिए भन्ने बारेमा भने कुनै आधिकारिक पुष्टि भएको छैन।
बलोचिस्तानमा हिंसा भएको यो पहिलो घटना होइन। हालै मात्र जाफर एक्सप्रेस नामक रेललाई पनि निशाना बनाइएको थियो। बलोचिस्तानको मस्तुंग जिल्लामा रेलको पटरीमा आईईडी विस्फोट गराएर रेललाई लिकबाट उतारिएको थियो, जसले गर्दा ६ वटा डिब्बा पल्टिएका थिए। यो दुर्घटनामा चार यात्रु घाइते भएका थिए। उक्त रेल पेशावरतर्फ गइरहेको थियो।
हिंसा केवल सुरक्षाबलहरूमा मात्र सीमित छैन। केही दिनअघि मात्र अज्ञात बन्दुकधारीहरूले कराँचीबाट क्वेटा गइरहेको एउटा यात्रु बसमा अन्धाधुन्ध गोली चलाएका थिए, जसमा तीन यात्रुको मृत्यु भयो र सात जना घाइते भएका थिए। कलात क्षेत्रमा भएको यो घटनाले आम नागरिकमा डर र असुरक्षाको भावना थप बढाएको छ।
यसअघि, किला अब्दुल्ला जिल्लाको जब्बार मार्केट नजिकै भएको शक्तिशाली बम विस्फोटमा चार जनाको ज्यान गयो र २० भन्दा बढी घाइते भएका थिए। विस्फोट यति शक्तिशाली थियो कि वरिपरिकै धेरै पसल र भवनहरूमा ठूलो क्षति पुगेको छ। विस्फोटपछि लागेको आगलागीले गर्दा पूरा बजार क्षेत्रमा हाहाकार मचिएको थियो।
बलुचिस्तान किन अशान्त छ?
बलुचिस्तान प्रान्त लामो समयदेखि अस्थिरताको केन्द्र बनेको छ। करिब दुई दशकदेखि यहाँ अलगाववादी आन्दोलन र आतङ्ककारी घटनाहरू निरन्तर देखिँदै आएका छन्। स्थानीय बलोच समुदायको आरोप छ कि पाकिस्तान सरकारले उनीहरूको क्षेत्रका प्राकृतिक स्रोतसाधनको दोहन गर्दै आएको छ, तर उनीहरूलाई उचित अधिकार दिइएको छैन। जसका कारण पृथक्ताबादी आन्दोलन सुरु भएको हो।
यस्ता असन्तुष्ट भावना अहिले हिंसात्मक रूपमा परिणत भएका छन्, र बलोच विद्रोहीहरूले खुलामञ्चमै पाकिस्तानी सेना र सुरक्षा निकायहरूलाई निशाना बनाउन थालेका छन्। उनीहरूको रणनीतिमा घात लगाएर आक्रमण गर्नु, आईईडी विस्फोट गराउनु, रेलगाडीमाथि हमला गर्नु र सर्वसाधारणलाई समेत निशाना बनाउने कार्यहरू पर्छन्। केही दिन अघि अमेरिकाले यहाँका विद्रोही समूहलाइ आतंकवादी समूह घोषणा गरेको थियो।