
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार आलास्कामा भेटवार्ता हुँदैछ। यो भेटको मुख्य उदेश्य भनेको रसिया र युक्रेनबिच दीर्घकालीन शान्ति स्थापना गर्नु भएको ट्रम्पले बताएका छन्।
तर ट्रम्पले युक्रेनको पक्षमा कति अडान राख्छन् भन्ने कुरामा भने युरोपेली नेताहरु सशंकित छन्। तर उनीहरु आशावादी पनि देखिएका छन्। युरोपेली नेताहरूले बुधबार पुटिनसँगको भेटअघि डोनाल्ड ट्रम्पसँगको भर्चुअल बैठकमा सावधानीपूर्वक आफ्ना कुराहरु राखे।
कम्तीमा युरोपेली नेताहरुले रसियासँग सम्झौता गर्दा युक्रेनी भू-भागको निर्णय कम्तीमा युक्रेनको सहभागितामा मात्र होस् भन्ने चाहन्छन्। उनीहरु कतै ट्रम्पले युक्रेनको सहमति बिनानै युक्रेनी भुभाग रसियालाई सुम्पिएर शान्ति कायम गराउने त होइनन् भन्नेमा सशंकीत छन्।
समाचारहरुमा जनाइएअनुसार ट्रम्पले युरोपेली नेताहरूलाई आफ्नो शिखर सम्मेलनको उद्देश्य मस्को र किभबीच युद्धविराम गराउने भएको बताए। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनका अनुसार, उनले कुनै पनि भू-सीमा सम्बन्धी विषय युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सहभागिताबिना सहमति नगर्ने बचन दिएको बताए।
ट्रम्पसँग कुराकानीका क्रममा युरोपेली नेताहरुले आफ्ना स्पष्ट एजेन्डाहरु ट्रम्पलाई सुनाएका थिए। ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र पोल्यान्डका नेतासँगै युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेन र नाटोका प्रमुख मार्क रुतेसँग पनि कुरा गरे।
बेलायतका प्रधानमन्त्री सर केइर स्टार्मरले बिहीबार बिहान लन्डनमा जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ। उनीहरूको वार्ता नं.१० डाउनिङ स्ट्रिटमा हुनेछ, जुन ट्रम्प र पुटिनबीचको शिखर बैठकको ठीक २४ घण्टा अगाडि हुने छ।
युरोपेलीहरू अलास्कामा हतारमा आयोजना गरिएको यो शिखर बैठकबाट अलग गरिएका छन्, र बुधबारको फोनवार्ता ट्रम्पको ध्यान युक्रेनको हित र महादेशको सुरक्षामा केन्द्रित राख्ने अन्तिम प्रयासजस्तै देखिएको छ। केही हदसम्म, यो सफल भएको पनि देखियो। बुधबार साँझ ट्रम्पले बैठकलाई ‘१० अंक’ दिएका थिए र युक्रेनमाथि युद्ध रोकेन भने रुसले ‘अत्यन्तै कठोर’ परिणाम भोग्नुपर्ने चेतावनी दिए।
आफ्ना वक्तव्यहरूमा युरोपेली नेताहरूले अन्तिम निर्णयमा किभको सहभागिता अपरिहार्य भएको दोहोर्याउँदै आएका छन्। जसले उनीहरूमा रहेको त्यो आन्तरिक चिन्ता झल्कायो कि पुटिनले अन्ततः ट्रम्पलाई युद्धविरामको सटहीमा युक्रेनी भूमि छोड्न मनाउन सक्ने छन्।