
भारत स्वशासित जम्मू-कश्मीरको किश्तवाडमा ‘क्लाडब्रस्ट’ हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। अपराह्न १२:३० बजे ‘आरीघोप्टे’ वर्षापछि आएको ढुङ्गा र लेदोसहितको बाढीको चपेटामा मानिसहरु परेका थिए।
जम्मू-कश्मीरको किश्तवाडस्थित पद्दर सबडिभिजनको चशोटी गाउँ पहाडबाट आएको पानी र लेदोको चपेटामा परेको थियो। धेरै मानिसलाई बगाएको समाचार संस्था पीटीआईले जनाएको छ। यो घटनामा १२ जनाको मृत्यु भएको छ र उनीहरूको शव भेटिएको छ।
२५ जनाभन्दा बढी घाइते भएका छन् र मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना छ। हराइरहेकाको संख्या एकीन भएको छैन।
यो दुर्घटना हजारौँ तीर्थयात्रीहरू मचैल माताको यात्राका लागि चशोटी गाउँ पुगेको समयमा भएको जनाइएको छ। यो यात्राको पहिलो विश्रामस्थल हो। यात्रा सुरु हुने ठाउँमै बादल फाटेको थियो। यहाँ तीर्थयात्रीहरूका लागि राखिएका बस, टेन्ट, लङ्गर र धेरै पसलहरू पनि बाढीको पानीले बगाएको जनाइएको छ।
मचैल माताको तीर्थयात्रा हरेक वर्ष अगस्ट महिनामा हुन्छ। यसमा हजारौँ श्रद्धालुहरू सहभागी हुन्छन्। यो वर्षको यात्रा जुलाई २५ देखि सेप्टेम्बर ५ सम्म चल्नेछ। यो मार्ग जम्मुदेखि किश्तवाडसम्म २१० किलोमिटर लामो छ। यसमा पद्दरदेखि चशोटीसम्म १९.५ किलोमिटर गाडीमा जान सकिन्छ, त्यसपछि मचैलसम्म ८.५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ।
भारतका विभिन्न प्रान्तहरु भीषण वर्षाका कारण चपेटामा परेका छन्। कतिपय ठाउँमा डुबान र बाढी पहिरोले जनजीवन प्रभावित भएको छ। केही दिनअघि उत्तराखण्डको धरालीमा ‘क्लाउडब्रस्ट’ हुँदा हराइरहेका २६ नेपालीसहित ४० भन्दा बढीको अवस्था अझै अज्ञात छ।