
लेखक उमा सुवेदीद्वारा लिखित आख्यान ‘परिधि’ काठमाडौंमा एक समारोह बिच लोकार्पण गरिएको छ।
लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा परिधिको लोकार्पण गरेका हुन्। सुवेदीको यो तेस्रो आख्यानलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।
कार्यक्रममा लेखक कुमारी लामाले ‘परिधि’मा स्वैर कल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको एक विशिष्ट आख्यान भएको बताइन्।
लेखकले मूलधारको एकथरीको लेखनभन्दा भिन्न शैली अपनाएर परिधिको आयामलाई फराकिलो पारेको लामाले टिप्पणी गरिन्। त्यस्तै अर्का लेखक केशव दाहालले ‘परिधि’ संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए।
उनले भने, ‘परिधिमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको छ। लेखकको निखारिएको शिल्पले पाठकलाई शुरुदेखि अन्त्यसम्मै बाँधेर राख्छ।’
कलाकार गौरी मल्लले ‘परिधि’ जस्तो नविन र शसक्त शैलीको नेपाली आख्यान आफूले अहिलेसम्म नपढेको बताउँदै यस पुस्तकका पात्रहरूले आफूलाई पनि कहिँ कतै प्रतिविम्वित गरेको सुनाइन्।
कार्यक्रममा कविता वाचनसमेत गरेकी मल्लले आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठीक जस्ता कुराहरू बारेमा पुनः सोच्न बाध्य बनाएको बताइन्।
‘परिधि’को अलौकिक संसारले सबै पाठकलाई सम्मोहित गर्ने उनको धारणा थियो। लेखक उमा सुवेदीले आफूले भन्न चाहेको कथाका लागि सामान्यभन्दा विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन्।
सुवेदीका यस अघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरु (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन्।