
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन्।
सोमबार काठमाडौँमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्याएको बताए।
उनले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु संकटापन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए।
उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर उल्लेख गरे।
हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसरका रुपमा आफूले सम्मेलनलाई लिएको बताए। विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आआफ्नो ठाउँबाट योगदान पुर्याउनु आजको आवश्यकता भएको उनको भनाइ थियो।
उनले हिमालय क्षेत्रमा तापक्रम औसतभन्दा धेरै वृद्धि भएको बताए। उनले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लभ वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको बताए।