
पोखरा- सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उपसभामुख इन्दिरा रानालाई हटाउने विषय असत्य भएको बताएका छन् । उनले उपसभामुख हटाउने विषयमा ज्यादा हल्ला फैलाइएको उनको भनाइ छ ।
गठबन्धनमा आबद्ध दलले उपसभामुख पद माग गरे सरकारसँगै राजनीतिक स्थायित्वका लागि दिनुपर्ने उनले तर्क गरे । शुक्रबार प्रेस चौतारि कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा राजनीतिक पद भएकाले चाहेको खण्डमा उपसभामुखलाई हटाउन सक्ने बताए ।
‘दलीय सहमतिको आधारमा सिटहरु बाँडफाँड भएको हो । त्यो बमोजिम हिजो उपसभामुख भाको हो । अहिले त उपसभामुख बनाउन पार्टीहरुले चाह्यो भने त्यो स्थायी पद त होइन राजनीतिक पद हो’, उनी भन्छन्, ‘अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार छ । गठबन्धनमा सहमति भयो भने त उपसभामुख चेन्ज हुन सक्छ नि ।’
उनले सरकारमा रहेका दलले चाहेको खण्डमा राष्ट्रपति उपराष्ट्रपतिसँगै सभामुख पनि परिवर्तन हुन सक्ने बताए ।
‘राष्ट्रपति उपराष्ट्रपति पनि चेन्ज भइराखेको छ । सभामुख पनि चेन्ज भइरहेको छ । यसलाई ठूलो विषय बनाउन पर्दैन किनभने एमालेको चाहिँ सभामुख छ’, गुरुङले भने, ‘नेपाली कांग्रेस या गठबन्धनभित्रको कुनै दलले राजनीतिक स्थायित्वका लागि, सरकारको स्थायित्वका लागि उपसभामुख माग्यो भने सायद नेताहरुले पु¥याउनुपर्ने पनि अवस्था हुन सक्छ ।’
उनले थपे, ‘तर, त्यो हल्लाचाहि ज्यादा हुन सक्छ । कोकोहल मच्चाइन्छ । उलाई हटाइहाल्नुपर्छ लागेको भए त हटाइहाल्थ्यो नि । सार्वजनिक कुराकानी भो अब लोलोलोलो आकाशै खस्यो भनेजस्तो भइराछ । यो मात्रै असत्य हो ।’
उपसभामुख हटाउने एमालेको मात्रै नभएर सरकारकै प्रस्ताव हुने मन्त्री गुरुङले बताए । गठबन्धनका मुख्य पार्टीहरुको जे जे सहमति थियो त्यहि सहमतिको आधारमा सरकार चल्ने उनले सुनाए । ‘हिजो एउटा सहमति थियो । रास्वपा पनि सरकारमा थियो । रास्वपमा सरकारमा भएको बेला एमाले रास्वपा, माओवादी हामी बसै सरकारम थियौं’, उनले भने, ‘सरकारमा हुँदाखेरि सभामुख र उपसभामुखको कुरा आयो । सभामुख एमाले र उपसभामुख रास्वपाको भयो । यो भागबण्डा मैले भनिराख्न पर्दैन ।’