
पोखरा – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिम्यिाधुराबाट सरकार पछाडि नहट्ने बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका गुरुङले लडाइँमार्फत लिम्पियाधुरा प्राप्त गर्ने कुरा कल्पना गर्न नसकिने बताए। कूटनीतिक पहल गरिने उनले दाबी गरे।
शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमाणहरुले लिम्पियाधुरा नेपालकै भएको पुष्टि गर्ने जिकिर गरे।
‘लिम्पियाधुराबाट कुनै पनि सरकार पछाडि हट्दैन। नेपालको सबै राजनीतिक दलहरुको समर्थनमा यो चुच्चे नक्सा पास गरेको हो। लिपुलेक, लिम्पियाधुृरा, कालापानी क्षेत्र हाम्रा ऐतिहासिक डकुमेन्टहरुले, विभिन्न प्रमाणहरुले, सुगौली सन्धिले हाम्रै हो,’ उनले भने, ‘बीचमा अतिक्रमण हुँदै हुँदै गएर हामीले क्लेम गर्न नसकेर हेरेर बसेको हुनाले उसै (भारत) को जस्तो भयो। जहाँसम्म हामी त्यसबाट पछाडि हटेको होइन। हामीले इन्टरनेशनल फोरमहरुमा पनि यो विषय उठाउँछौँ।’
चीन र भारतबीचको सम्झौता हुँदाखेरी नेपालले आफ्नो दाबी गरेको क्षेत्र रहेको सुनाए। नेपाली भूमिमा दुई देशबीचको व्यापारका लागि त्यहाँ करिडोर बनाउने नपाइने उनको भनाइ थियो।
‘हाम्रो पराष्ट्र मन्त्रालयले पनि वक्तव्य जारी गरेको छ। यो लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा भएको जग्गा हो। नेपालले त्यो दावा गर्छ। तथ्य, प्रमाणले के कुरा भन्छ। हाम्रो जग्गामाथि दुई देशको व्यापारका लागि कोरिडोर बनाउन पाउँदैन भनेर नोटिस जारी गरेका छौँ’, उनले सुनाए।
कूटनीतिक संवादको माध्यमबाट समस्याको समाधान खोजिने मन्त्री गुरुङले विश्वास दिलाए। ‘कूटनीतिक संवादको माध्यमबाट यो समस्याको समाधान गर्ने हो। लडाँइ गरेर प्राप्त गर्ने कुरा हामीले कल्पना गरेका छैनौँ’, उनले भने।