
काठमाडौं— नेपालको द्रुत गतिमा विस्तार भइरहेको मल्टिप्लेक्स चेन आई.एन.आई. सिनेमाजले प्रतिष्ठित विश्वज्योति सिनेप्लेक्सको व्यवस्थापन सम्हालेको छ।
यो सम्झौतासँगै, आई.एन.आई. सिनेमाजले नेपालभर पाँचवटा मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ, जसमा काठमाडौंमा तीन र बुटवल तथा सिमरामा दुईवटा छन्।
यसले आई.एन.आई. सिनेमाजलाई १० स्क्रिन र १८६६ सिट क्षमतासहित नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन बनाएको छ। यो सम्झौता आजै आई.एन.आई. सिनेमाजका सीईओ एवं सह-संस्थापक गृहेन्द्र मुनंकर्मी र सीओओ एवं सह-संस्थापक सुरेन्द्रकुमार थापा तथा विश्वज्योति सिनेप्लेक्सका सीईओ रोहनसिंह सराफ र निर्देशक रिवाजसिंह सराफ बीच भएको हो। यससँगै, जमलस्थित विश्वज्योति सिनेप्लेक्सलाई अब आई.एन.आई. सिनेमाज – विश्वज्योति नाम दिइएको छ।
आई.एन.आई. सिनेमाजले आफ्नो यात्रा डिसेम्बर २०१९ मा आई.एन.आई. सिनेमाज – लोत्से (गोंगबु, काठमाडौं) बाट सुरु गरेको थियो। त्यसपछि कम्पनीले निरन्तर नवीनता र विस्तारलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ। मार्च २०२२ मा यसले बुटवलको मिलनचोकमा आई.एन.आई. सिनेमाज – क्यूबक्स सुरु गर्यो। सेप्टेम्बर २०२३ मा, नयाँबानेश्वरको एन.बि. सेन्टरमा नयाँ मल्टिप्लेक्स खोल्दै नेपालमै पहिलो पटक GDC DTS:X Immersive Audio प्रणाली भित्र्याएको थियो। यसपछि फेब्रुअरी २०२५ मा सिमराको के.एस.आर. मुभिजलाई आई.एन.आई. सिनेमाज – के.एस.आर.को रूपमा सञ्चालनमा ल्याइयो।
मल्टिप्लेक्स सञ्चालनबाहेक, आई.एन.आई. सिनेमाज चलचित्र वितरण, मल्टिप्लेक्सको डिजाइन तथा निर्माण, र उच्च-स्तरीय सिनेमा उपकरणहरू जस्तै प्रोजेक्टर, सर्भर र इमर्सिभ अडियो प्रणालीको आयातमा पनि सक्रिय छ।
२०१९ मा स्थापित यो कम्पनी छोटो समयमै नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स श्रृंखला बनेको छ। कम्पनीले अत्याधुनिक प्रविधि र विश्वस्तरीय सुविधाका माध्यमबाट दर्शकलाई प्रिमियम मनोरञ्जन अनुभव दिने लक्ष्य लिएको छ।