
काठमाडौँ – भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले तीनदिने (भदौ ७ देखि ९ गतेसम्म) नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै काठमाडौँका विभिन्न ठाउँको अवलोकन गर्नेछिन्।
आज (शनिबार) १२:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनी होटल सोल्टीमा बस्नेछिन्। विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेपछि सुआन सिधै होटल सोल्टीमा पुगिन्।
पहिलो दिन सुआनको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग मात्र उच्चस्तरीय भेटवार्ता रहेको छ। दिउँसो ३:३० मन्त्री राणा र सुआनको भेटवार्ता हुने कार्यतालिका रहेको छ।
दोस्रो दिन भदौ ८ गते भने उपराष्ट्रपति सुआन उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने छिन्। दोस्रो दिनको पहिलो उच्चस्तरीय भेट अपरान्ह ११:४० मा खानासहित सुआन र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच हुनेछ।
दोस्रो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उपराष्ट्रपति सुआनको शिष्टाचार भेटवार्ता हुने कार्यतालिका छ।
उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा ४:३० बजे सहभागी हुने छिन्। यसबाहेक दोस्रो दिन अन्य भेटवार्ता पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तेस्रो दिन भदौ ९ गते सुआनको ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। तेस्रो दिन भने अन्य भेटवार्ता रहेको छैन। यस दिन उनको काठमाडौँको विभिन्न पर्यटकीय ठाउँको अवलोकन गर्ने कार्यतालिका छ।
दिउँसो २:१५ बजे पर्यटकीयस्थल पाटन दरबारस्क्वायरको सुआनले अवलोकन गर्नेछिन् भने ३:४० मा स्वयम्भुनाथ मन्दिरको अवलोकन गर्ने कार्यतालिका छ। र राति ११:३० बजे उनी स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
–तस्बिर: बर्षा शाह/देशसञ्चार