
काठमाडौँ – सरकारले पहिलो चौमासिकमै ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सोमवार २८ दिने टे«जरी बिलमार्फत उक्त ऋण उठाउन लागिको हो । ट्रेजरी बिलका लागि सोमवार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ ।
सामान्यतया आन्तरिक ऋण आर्थिक वर्षको अन्त्यतिर लिने गरिए पनि सरकारले यसपटक आर्थिक वर्षको दोस्रो महिना नसकिँदै ५ अर्ब ऋण लिन लागेको हो। जसअनुसार मंगलवार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका कार्यालयको छ भने त्यसरी जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, (१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेको छ ।
ऋण व्यवस्थापन कार्यालयकाअनुसार यसअघि बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४८ प्रतिशत र ३६४ दिनेमा २.६ प्रतिशत भारित औसत ब्याजदर तय भएको थियो ।
बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । ट्रेजरी बिलहरू बोलकबोल मार्फत निष्कासन हुने गरेको छ ।
बहु–बोलमूल्य विधि प्रयोग हुन्छ । यसमा विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रश्ताव गर्छन्, र औसत मूल्यमा वितरण गर्ने गरिएको छ । यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ ।
प्रतिष्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिष्पर्धी र अप्रतिष्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन । सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ ।