
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गणेश थापालाई एन्फा साधारणसभाको प्रतिनिधि बनाएको भन्दै एक क्लबलाई कारबाही प्रक्रया अघि बढाएको छ। एन्फाले थापालाई सदस्य बनाएको आरसी-३२ लाई कडा कारबाहीको चेतावनी दिँदै सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै पत्र पठाएको हो।
विश्व फुटबल महासंघ (फिफा) द्वारा थापालाइ १० वर्ष प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्ध पूरा भएसँगै पूर्वअध्यक्ष गणेश थापा क्लबको साधारण सभा प्रतिनिधि नियुक्त हुँदा एन्फाले उनलाई रोक्न अनेक प्रयास गरे पनि अन्त्यमा गेटमा प्रहरी लगाएर प्रवेशमा रोक लगाएको थियो।
एन्फाले आफ्नो विधानको गम्भीर उल्लंघन भएको भन्दै क्लबलाई पत्र काटेको हो। पत्रमा एन्फाको विधान २०७७ को धारा १५ (१) (ज) ले फिफा वा कुनै पनि खेलकुद निकायबाट कारबाहीमा परेका व्यक्तिलाई कुनै पनि पदमा नियुक्त गर्न नपाइने स्पष्ट व्यवस्था गरेको भन्दै क्लबले उक्त व्यवस्थाविपरीत फिफाबाट १० वर्षको प्रतिबन्ध झेलिरहेका गणेश थापालाई सदस्य नियुक्त गरी एन्फाको नियमित साधारण सभामा प्रतिनिधिका रूपमा सिफारिस गरेको दाबी गरेको छ।
तर, थापाले १० वर्ष प्रतिबन्ध पूरा गरिसकेका छन्। प्रतिबन्ध पूरा गरिसकेपछि कानुनी रुपमा उनलाई रोक्न मिल्दैन। तर, एन्फाले थापाका डरले उनलाई प्रतिनिधि बनाउने क्लबलाई नै स्पष्टीकरण सोधेको हो।
यसअघि एन्फाले २०८२/०२/०१ मा पत्र पठाएर यसबारे जानकारी मागेको थियो। जवाफमा क्लबले पठाएका पत्रहरू (मिति २०८२/०१/३१ र २०८२/०२/१५) चित्तबुझ्दो नभएको र सदस्य संस्थाले पालना गर्नुपर्ने न्यूनतम सिद्धान्तविपरीत रहेको एन्फाको ठहर छ।
एन्फाले आफ्नो पत्रमा ‘फिफाको अनुशासन कारबाहीमा परेको व्यक्तिलाई एन्फाको साधारण सभामा कुन अधिकार प्रयोग गरी प्रतिनिधि पठाउने निर्णय भएको हो?’ क्लबको यो कार्य एन्फा विधानविपरीत हुने थाहा हुँदाहुँदै पनि विधानको मर्म र उद्देश्यमाथि नै प्रहार गर्ने गतिविधि किन गरेको भन्दै एन्फाले जवाफ मागेको छ।
क्लबको यस्तो कदमले फिफाको निर्णयको समेत ठाडो उल्लंघन भएको र यसले समग्र नेपाली फुटबलकै छविमा नकारात्मक असर पार्न सक्ने बताएको छ।
एन्फाले अन्त्यमा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन भनेको छ। यदि क्लबको जवाफ सन्तोषजनक नभएमा एन्फाले आफ्नो विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।