
दक्षिण गाजास्थित एक अस्पतालमा भएको इजरायली आक्रमणमा ४ जना पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ। जसमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका चार पत्रकार पनि परेका बीबीसीले जनाएको छ।
रायटर्सका अनुसार नास्सेर अस्पतालमा भएको आक्रमणमा रोयटर्सका एक क्यामेराम्यान मारिएका छन्। बाँकी तीन पत्रकार अल जजिरा, एपी (एसोसिएटेड प्रेस) र एनबीसीका रहेको जनाइएको छ।
हमासद्वारा सञ्चालित सिभिल डिफेन्सले जनाएअनुसार पहिलो प्रहारमै केहीको मृत्यु भएको थियो भने उद्धारकर्मीहरू घटनास्थल पुगेका बेला दोस्रो प्रहार हुँदा अन्यको पनि ज्यान गएको हो। यसबारे इजरायली सेनाले र प्रधानमन्त्री कार्यालयले तत्काल कुनै टिप्पणी गरेका छैनन्।
दक्षिण गाजाको मुख्य अस्पतालबाट धुवाँ उडिरहेको दृश्य भिडियोमा देखिन्छ। एक भिडियोमा जब एक चिकित्सकले पत्रकारहरूलाई देखाउन रगतले भिजेका लुगा उठाएर देखाइरहेका थिए, त्यहीबेला अर्को आक्रमण भएको देखिन्छ।
रायटर्स समाचार एजेन्सीका अनुसार उनका क्यामेराम्यान हुसुसाम अल–मस्री मारिएकामध्ये एक हुन्। अन्य मृतकमध्ये अल जजिराका मोहम्मद सलामेह, एसोसिएटेड प्रेसकी पत्रकार मरियम अबु दाका, र अमेरिकी टेलिभिजन नेटवर्क एनबीसीका फोटोग्राफर मुआथ अबु ताहा रहेका छन्।