
नेपाली यू-१७ महिला टोलीले साफ च्याम्पियनसिपअन्तर्गत जित्नै पर्ने दबाब रहेको खेलमा आज बंगलादेशको सामना गर्दै छ। आजको खेलमा नेपाल पराजित भएमा औपचारिक रुपमा प्रतियोगिताको उपाधि होडबाट बाहिरिने छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल दिउँसो २:४५ मा खेल्ने छ। नेपालले यसअघि आफ्नो तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। आइतबार भएको खेलमा नेपाल ३-० ले पराजित हुन पुगेको थियो।
डबल राउन्डरोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ। यस्तोमा नेपाले उपाधिका लागि बाँकी सबै खेल जित्नु पर्ने दबाब रहेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७-० गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा आयोजक भुटानलाई २-१ को पुनरागमन जित हासिल गरेको थियो।
आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिने भएकाले पनि यो खेल नेपालका लागि महत्त्वपूर्ण रहेको छ। तर बलियो बंगलादेशलाइ पराजित गर्नु नेपाली किशोरीहरुका लागि सहज भने हुने छैन।
आजको खेलपछि नेपालले शुक्रबार भारतसँग र आइतबार भुटानसँग खेल्ने छ। प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागि भएका छन्।
प्रतियोगितामा नेपालले सातौं पटक सहभागिता जनाउँदा उमेर समूहमा २०२२ मा एकपटक उपाधि जितेको नेपाल त्यसयता लगातार कमजोर फर्ममा चलिरहेको छ।
उमेर समूहमा भारत र बंगलादेशले दुई-दुई पटक उपाधि जित्न सफल भएका छन्।