
चीनले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध र आयामको फराकिलो स्वरुपलाई एकसाथ प्रस्तुत गर्ने भएको छ। उसले विश्व शक्तिका सर्वाधिक पावरफुल मानिएका उत्तर कोरिया र रसियाका शीर्ष नेतृत्वसहित २६ विदेशी शीर्ष नेतृत्वलाई आफ्नो ‘भिक्ट्री परेड’मा सहभागी गराउँदै आफ्नो ग्लोबल छबिलाई बाहिर ल्याउने भएको हो। भिक्ट्री परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको आगामी हप्ताको भव्य सैनिक परेडमा सहभागी हुने दुई दर्जनभन्दा बढी विदेशी नेतामध्ये सर्वाधिक प्रतिक्षित हुनेछन्। चीनको विदेश मन्त्रालयले बिहीबार सार्वजानिक गरेको लिस्टमा अन्य छिमेकी राष्ट्रहरुको नेतृत्वमा रहेका शीर्ष व्यक्तिहरु पनि देखिने छन्।
यो परेड सेप्टेम्बर ३ मा बेइजिङको तियानमेन चोकमा आयोजना हुनेछ जुन जापानको औपचारिक आत्मसमर्पणपछि दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवको स्मरणमा चीनले आयोजना गर्न लागेको हो।
यस घोषणाले पुटिन र किमलाई राष्ट्रपति सी जिनपिङको अतिथिहरूको सूचीको शीर्ष स्थानमा राख्दै, बेइजिङको ‘गेट अफ हेभेनली पिस’ माथि यी तीन विश्वका शक्तिशाली लिडरहरु एकसाथ उभिएको असाधारण तस्बिरका लागि वातावरण तयार गरेको छ जसले स्पष्ट रूपमा एकताको संकेत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले आफ्नो शक्ति कूटनीतिक रुपमा देखाउने छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको निम्तोमा २६ जना विदेशी नेताहरु चीनको भिक्ट्री-डे समारोहमा सहभागी हुनेछन्। चिनियाँ सहायक विदेश मन्त्री हङ्ग लेईले बिहीबार सहभागी हुने शीर्ष नेतृत्वको सूची सार्वजनिक गरेका हुन्।
यी हुन् भिक्ट्री परेडमा सहभागी हुने विदेशी शीर्ष नेतृत्व
चीनले जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्वव्यापी फासीवादविरोधी युद्धमा प्राप्त विजयलाई ऐतिहासिक मान्दै ८०औंँ वार्षिकोत्सवलाई स्मरण गर्न लागेको हो।
समारोहमा सहभागी हुन निमन्त्रणा पाएका नेताहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता तथा वर्कर्स पार्टीका महासचिव किम जोङ उन, क्याम्बोडियाका राजा नोरोडम सिहामोनी, भियतनामी राष्ट्रपति लुंग कुओङ, लाओ जनक्रान्तिकारी पार्टीका महासचिव तथा राष्ट्रपति थोंगलुन सिसौलिथ र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो रहेका छन्।
यस्तै, मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम, मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुज्जु, कजाखस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकाएभ, उज्बेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ, तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभ, बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्को र अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ समारोहमा सहभागी हुनेछन्।
आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, इरानी राष्ट्रपति मसूद पेजेशकियन, कङ्गो गणतन्त्रका राष्ट्रपति डेनिस सासु न्गुएसो, जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनाङगाग्वा, सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिच, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिक, क्युबाका प्रथम सचिव मिगेल दियाज-केनेल तथा राष्ट्रपति, र म्यानमारका कार्यवाहक राष्ट्रपति मिन आङ हलाइङ पनि समारोहमा सहभागी हुनेछन्।
यसबाहेक चिनियाँ सरकारको निम्तामा विभिन्न देशका संसदका सभामुख, उपप्रधानमन्त्री, उच्चस्तरीय प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय संगठनका प्रमुख तथा पूर्व राजनीतिज्ञहरूले समेत सहभागि हुनेछन्। यो समारोहलाई चीनले आफ्नो सामरिक शक्ति प्रदर्शनको महत्वपूर्ण अवसरका रुपमा समेत प्रयोग गर्दै छ।