
मुगु – मुगुमा ५० वर्षपछि फेरि नयाँ राष्ट्रिय निकुञ्ज स्थापना हुने भएको छ। सरकारले मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने शुक्रबार निर्णय गरेको हो। वन मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय लिएको हो।
यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। अहिले भने वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा दोस्रो निकुञ्ज स्थापना गर्न सरकार अघि बढेको हो। यस निर्णयसँगै छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा परिचित हुने भएको छ।
से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज बाट करीब ९ सय ६ वर्गकिलोमिटर क्षेत्रफललाई छुट्टाएर बनाइएको यो निकुञ्ज मुगुम कार्मारोङ गाउँपालिकाको वडा नं १ मा पर्ने गर्छ। यो क्षेत्र डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। स्थानीय बासिन्दाले कामकाजका लागि शे–फोक्सुन्डो पुग्दा पैदल हिँड्न एक साता भन्दा बढी लाग्ने समस्या भोग्दै आएका थिए। सोही कठिनाइ बुझेर मन्त्री शाहीले छुट्टै निकुञ्जको पहल गरेका हुन्। गाउँपालिकाले पनि यसअघि नै मन्त्रीलाई छुट्टै निकुञ्जको माग गरेको थियो।
यो निर्णयसँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ। पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण रहेको उक्त क्षेत्रको संरक्षण गर्न सरकारले गरेको यस निर्णयले करान भेगको उपल्लो क्षेत्रको चोरी सिकार नियन्त्रणमा टेवा मिल्ने र स्थानिय बासिन्दाको लागि बिबिध काममा सहज हुनुको साथै त्यस क्षेत्रको जैबिक बिबिधतामा संरक्षणमा टेवा मिल्ने बिश्वास गरिएको छ।