
हुम्ला – जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकामा आयोडिनयुक्त नुन महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ। नुन अभाव भएपछि स्थानीय उपभोक्ता प्रतिकेजी ५५ रुपैयाँ तिरेर नुन खान बाध्य हुँदै आएका हुन्।
बजारमा ब्यापारीले ल्याएको आायोडिनयुक्त नुन प्रतिकेजी ५५ रुपैयाँमा खरिद गरेर उपभोग गरिरहेको सर्केगार्डका स्थानीय उपभोक्ता कर्णजंग शाहीले बताए।
पहिले ढुवानी अनुदानको नुन थोरै पाएको र त्यो सकिएपछि सात महिनाबाट महङ्गो मुल्यको नुन खरिद गरेर उपभोग गरिरहेको छ। जिल्लाभर सस्तोमा नुन उपभोग गर्ने कुरा बाहिर आए पनि आफुहरु बर्षेनी महङ्गो नुन उपभोग गरिरहेका छन्। सरकारले पनि आवश्यकता अनुसार नुनको कोटा निर्धारण गर्नुपर्ने देखिएको हो।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले एक वर्षका लागि निर्धारण गरेको कोटाको नून अपुग हुँदा हाल नूनको अभाव भएको सर्केगार्ड गाउँपालिका–३ का वडा अध्यक्ष अकिल कार्कीले बताए। लिमिटेडले हुम्ला जिल्लाका लागि ढुवानी अनुदानमा नुन उपलब्ध गराउदै आएको भएपनि त्यो अपुग हुने गरेको छ। सो नुनको मुल्य प्रतिकेजी नौ रुपैयाँँ पर्ने गर्छ।
हाल बजारको मुल्यमा बिक्री भई रहेको नूनलाई पाँच गुणा बढी मुल्य तिरेर उपभोक्ताहरुले खरिद गर्नु परि रहेको छ। गत आर्थिक वर्षमा लिमिटेडले सर्केगार्ड गाउँपालिकाका लागि नौ सय क्वीन्टल नूनको कोटा निर्धारण गरे अनुसार सबै नुन ढुवानी भएर आइपुगेको र त्यसलाई जनसंख्या अनुसार प्रत्येक वडालाई सत्चालीसदेखि पचपन्न क्वीन्टलसम्म बितरण गरिएको उनले बताए।
वडालाई प्राप्त भएको नुन प्रतिघरधुरी पन्द्र केजीका लागि बिक्री गरिएको बताउँदै यति नुन एक घरधुरीका लागि वार्षिक प्रयाप्त नभएको उनले बताए। मानिस कै लागि नपुग्ने नुन भए पनि त्यसैबाट पशुबस्तु र भेडाबाख्रालाई समेत खुवाउनुपरेपछि स्वतः अभाव हुनु स्वभाविक भएको र बाध्य भएर उपभोक्ताहरु महङ्गो मुल्यमा नुन खरिद गर्नुपरेकाे बताए।
लिमिटेडबाट ढुवाानी अनुदानमा नुन दिएको देखिने तर उपभोक्ताले नुन नपुगपछि महङ्गो मुल्यमा खरिद गरेर प्रयोग गर्नु दुखद कुरा भएको उनले बताए। जनसंङ्ख्या अनुसार लिमिटेड केन्द्रबाट निर्धारित कोटा ठिकै भएको भएपनि ब्यवहारिक रुपमा नुनको सदस्या देखिएको लिमिटेड शाखाका प्रमुख राजबहादुर लामाले बताए। सर्केगार्ड गाउँपालिकाको जनसंङ्या दश हजार ६८८ रहेको छ।
उनले गाउँपालिकाका मानिसले मात्र सो नुन उपभोग नगरेर पशुबस्तु र भेडाबाख्रालाई पनि प्रयोग गरिने भएको कारण नुन अभाव हुनु स्वभाविक भएको उनले बताए। सो गाउँपालिका पशुबस्तु बढी हुनेमा पर्छ। अब ब्यबहारिक समस्याले गर्दा नुनको सदस्या देखिएको र यसलाई समन्वयमा समाधान गरिनु पर्ने देखिएको हो।