
काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ।
शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १ सय १ रनको शतकीय इनिङ्स खेलेका थिए। हार नजिक पुगेको नेपाललाई रोहित र सोमपाल कामीको अविजित साझेदारीले जित दिलायो।
१६१ रनमा ८ विकेट गुमाएको नेपालका लागि रोहित र सोमपालले अविजित अर्धशतकीय साझेदारी गरे। सोमपाल ४० रनमा अविजित रहे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमा २ सय ४२ रनमा अलआउट भएको थियो। साउथ अस्ट्रेलियाका लागि ह्यानरी मानेन्तीले सर्वाधिक ६३ रन बनाउँदा दुवित हूगानबोजमले ५३ रनको अर्को अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिँदा सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए।
नेपालले टप इन्ड टी-२० सिरिज समाप्त भएपछि अस्ट्रेलियाका स्थानीय टोलीसँग अभ्यास खेल खेलिरहेको छ। टप इन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं स्थानमा रहेको थियो।