
मुगु – मुगु जिल्लाको एक दुर्गम गाउँमा जन्मिएको एक नवजात शिशु आमाको मृत्यु पछि बिचल्लीमा परेको छ। प्रसूति पीडामा परेकी आमाको उपचार नपाएर मृत्यु भएपछि नवजात शिशु जन्मेसँगै आमाकाे मायाबाट वञ्चित भएको हो।
घरमा १२ वर्षीय दाजु, ९ वर्षीया दिदी, वृद्धा बाजे–बज्यै र कुलदेवताका धामीसमेत रहेका पिता मात्र छन्। आमाको माया र हेरचाह पाउन नपाएको नवजात शिशुको अवस्था प्रतिदिन कठिन बन्दै गएको छ। हाल नवजात शिसुलाई फूपू नाता पर्ने महिलाले स्तनपान गराराखेकी छन्। आफ्नो बच्चालाई दूधको कमी हुँदाहुँदै पनि ती फूपू नाताकी महिलाले टुहुरो नवजात शिशुलाई स्तनपान गराएकी हुन्। आमाको दूध चाख्नै नपाएको शिशुको जीवन कष्टकर बन्दै गएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
शिशुको बुवाले कुल देवताको धामीको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। गाउँको धार्मिक संस्कारअनुसार उनलाई टाढा कतै जान मिल्दैन। यस कारण आमाको मृत्यु पछि शिशुको उपचार र उचित हेरचाहमा समस्या आएको गाउँलेले बताएका छन्। गाउँमै स्वास्थ्य गाउँ भन्दा करिब १ घण्टा टाढा सिपमा छ।
शिशुका दाजु–दिदीहरू स्वयं नाबालक भएकाले भाइलाई दूध खुवाउनेदेखि दैनिक स्याहार–सुसारमा कठिनाइ भोगिरहेका छन्। बृद्ध बाजे–बज्यै पनि शारीरिक रुपमा असक्त भएकाले घरमा सबैभन्दा असुरक्षित अवस्थामा नवजात शिशु परेको स्थानीयले बताएका छन्।
स्वास्थ्यकर्मीका अनुसार आमाकाे मृत्युपछि नवजात शिशुको जीवन बचाउन वा स्तनपानको विकल्पका रुपमा स्वास्थ्य संस्थामार्फत विशेष दूध उपलब्ध गराउन सकिन्छ। तर दुर्गम भेगमा यस्तो सुविधा नपाउँदा धेरै शिशु अकालमै जीवन गुमाउने गरेका छन्।
गाउँलेले सरकार र सम्बन्धित निकायलाई यस घटनाबाट पाठ सिक्दै दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा प्रसूति सेवामा सुधार गर्न, गर्भवती महिलालाई समयमै स्वास्थ्य परीक्षण गर्न र नवजात शिशुको जीवन रक्षा गर्न दूध आमाको व्यवस्था मिलाउने जस्ता ठोस कदम चाल्न आवश्यक रहेकाे बताएका छन्।