
सिमकोट – यस वर्ष मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकको संख्या चार हजार २६८ जना पुगेको छ। चीनले हिल्सा नाकालाई भारतीय पर्यटकहरुका लागि यो नाका खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको हो।
शनिबारसम्म मानसरोवर कैलाशको दर्शन गर्नका लागि सिमकोट भएर हिल्सातर्फ लाग्ने पर्यटकहरुको संख्या चार हजार २६८ जना पुगेको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए।
मानसरोवर कैलाशको यात्रा गर्ने सिजन बाँकी नै रहेको कारण यो संख्या अझै बृद्धि हुनेछ। हाल यी तीर्थ यात्रीहरुको चापले गर्दा सिमकोट बिमानस्थल र हिल्सामा मानिसहरुकाो चहलपहल बढ्ने गरेको छ। नेपालगंजबाट आएर हिल्सततर्फ लाग्ने र हिल्साबाट मानसरोवर कैलाशको दर्शन गरेर फर्केका पर्यटकहरुको सिमकोट बजारमा चहल पहल पनि बढेको छ। मौसमले साथ दिए दैनिक दश वटासम्म नेपालगंजबाट उडान हुने गरेका छन्।
यसका लागि सिताका दुई वटा, समिटको एउटा र तारा एयरका दुई वटा जहाजले उडान भर्ने गरेका छन। त्यसैगरि सिमकोट बिमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकोप्टरहरुले पर्यटक ओसार्ने कार्य गर्दै आएका छन। गत जेठयता धार्मिक पर्यटक मानसरोवर कैलाश दर्शनका लागि आउन सुरु भएको थियो।