
मोरङ – कोशी प्रदेश लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन्।
विराटनगरमा सोमबार आयोजित वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी सर्वेक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले प्रदेशले लगानीका लागि प्रचुर सम्भावना बोकेको उल्लेख गरे।
कार्यक्रममा अध्यक्ष राउतले लगानीकर्ताहरुले कम्पनी वा उद्योगको मूल्य नाफा र घाटामा मात्र नभएर सामाजिक उत्तरदायित्व, वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि गर्ने गरेको बताए।
उनले भने, ‘आजको विश्व व्यावसायिक जगतमा महत्वपूर्ण अवधारणा बनिसकेको अहिलेको अवस्थामा लगानीकर्ताहरुले अब कम्पनी वा उद्योगको मूल्य केवल नाफा र घाटामा मात्र हेरिरहेका छैनन्। अब उद्योगीहरुले सामाजिक उत्तरदायित्व, वातावरणीय प्रभाव र सुशासन अभ्यासको आधारमा पनि काम गर्ने गरेका छन्। वातावरण, पर्यावरण र सामाजिक सुशासनको अवधारणाले प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ। यसलाई अपनाएर अघि बढ्नसकेको खण्डमा प्रदेश लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्छ।’
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा भएको हो।
त्यसैगरी कार्यक्रममा प्रदेशका जिल्लानगर उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योग प्रतिष्ठानका सञ्चालक गरी करीब ५० जनाको सहभागिता थियो।