
झापा- नौपटकको लामो वार्तापछि अन्ततः झापाका चिया उत्पादक र चिया श्रमिकबीच पारिश्रमिक वृद्धिको विषयमा सहमति भएको छ।
यस सहमतिसँगै साउन १८ गतेदेखि बन्द रहेका चिया बगानहरु अब सञ्चालनमा आउने भएका छन्।
चिया बगानमा काम गर्ने श्रमिकको दैनिक ज्याला रु. ५६५ र मासिक रु. १५,६९९ पुर्याइने भएको छ।
यसअघि उनीहरुले क्रमशः रु. ५०० र रु. १३,९३७ पाउँदै आएका थिए। यो सहमति साउन १ गतेदेखि नै लागू हुनेछ।
चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकीदारको दैनिक भत्ता रु. ७० निर्धारण गरिएको छ।
सबै प्रतिष्ठानहरूले २०८२ भदौ मसान्तसम्ममा श्रम ऐन २०७४ अनुसार आवश्यक कामदारको संख्या यकिन गरी नियमित र समयगत रोजगार सम्झौता गर्नेछन्।
नियमित रोजगारीमा रहेका श्रमिकहरूलाई २०८२ असोज मसान्तसम्ममा सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने प्रक्रिया सुरु गरिनेछ।
यसअघि चिया बगानमा क्रियाशील ट्रेड युनियनहरूले गत असार ६ गते ६ बुँदे माग राखेका थिए। माग पूरा नभएपछि उनीहरूले साउन १८ गतेदेखि चिया बगान बन्द गरेका थिए, जसले गर्दा चिया उद्योग प्रभावित भएको थियो।