पलेँटीमा घन्किए रामकृष्ण दुवालका सृजना

पलेँटीमा घन्किए रामकृष्ण दुवालका सृजना
+
-

काठमाडौं- यही सप्ताहान्त नेपालयको आरसालामा सङ्गीतकार रामकृष्ण दुवालको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा दुवालले सङ्गीत भरेका एक दर्जनभन्दा धेरै गीतहरू घन्किएका थिए।

नेपाली पहिरनमा सजिएका रामकृष्ण दुवालले दाफा गायनबाट आफ्नो कार्यक्रमको थालनी गरेका थिए । कार्यक्रमको थालनी श्याम सुन्दर बसन्त बेला‘ बोलको नेवारी अथवा नेपालभाषाको परम्परागत बसन्त गीतबाट भएको थियो । यस गीतमा उनले प्रदर्शन गरेको नृत्य मुद्राको धेरै दर्शकले खुलेर प्रशंसा गरेका थिए । दुवालका रचनालाई नयाँ पुस्ताका दुईजना कण्ठशिल्पी अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले स्वर दिएका थिए ।

कार्यक्रमलाई चार भागमा विभाजन गरेर प्रस्तुत भएको जानकारी पलेँटी संचालकले दिएका थिए ।

दोस्रो प्रस्तुतिमा कवि तथा गीतकार मञ्जुलको पहिलो गीतिसँग्रह साइली मोरीलाईमा रहेको गीत थियो । जसलाई दुवालले गीतकार मञ्जुललाई भेट्नु पहिले नै धुन भरेको जानकारी दिएका थिए। यस गीतलाई अभिज्ञाले गाएकी थिइन्। सुनैको काँइयो सुनैको थाक्रोसुनौली मेरो केश‘ बोलको गीत सुन्दै गरेकी एकजना दर्शक लगातार आँशु पुछिरहेकी देखिन्थिन् । पलेँटी संचालक आभास भन्दै गरेका हुन्छन्- ‘तीजको माहोल अझै सकिएको छैन कि जस्तो छ ?’  

 कार्यक्रमको तेस्रो प्रस्तुतिमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य मङ्गलमान‘ को छोटो अंश रहेको थियो । जुन खण्डकाव्यलाई रामकृष्ण दुवालले धुन भरेर युगकवि समक्ष नै सुनाएको जानकारी गराएका थिए ।

मङ्गलमान‘ युगकवि सिद्धिचरण श्रेष्ठले आफू जेलमा बस्दा भेटेका विद्रोही पात्र हुन् । जसको आधारमा कविले खण्डकाव्य नै सृजना गरेका छन् । विद्रोही मङ्गलमानको चरित्रबाटै ब्याक टु मङ्गलमान‘ भन्ने उक्ति प्रचलित रहेको हो । अहिले नकारात्मक रुपमा प्रयोग हुने गरे पनि खासमा ‘ब्याक टु मङ्गलमान‘ भन्ने उक्तीले- सँधै विद्रोही बनिरहनु,  भन्ने भाव बोकेको छ । यो गीत बेनुपको स्वरमा गुञ्जेको थियो । 

सङ्गीतकार दुवालको सम्पूर्ण साङ्गीतिक व्यक्तित्वलाई समेट्ने ध्येयले आयोजना भएको पलेँटीमा उनले गरेका सबै खाले सृजनाहरू समावेस भएको भान पर्थ्यो । नेपालभाषाको (नेवारीको) सुरुवाती टेली चलचित्र चिप: निप:मा प्रयोग भएको गीत जाकी निगचा फोनेति बजय्लाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरिएको थियो ।

यसपछि कार्यक्रमले अर्को मोड लिएको थियो । यो चरणमा सङ्गीतकार रामकृष्ण दुवालले सृजना गरेका र धुन भरेका बालगीत प्रस्तुत भएका थिए । जसमा गीतका रचना-गर्भबारे दुवाल र कार्यक्रम संचालकबीच रोचक वार्ता भएको थियो ।

 स्कुलमा गीतसङ्गीत र नृत्य सिकाउँदाको विगत सम्झँदै गर्दा सङ्गीतकार रामकृष्ण दुवाल अतीतमै डुबे झैँ देखिन्थे । यसक्रममा बाँसुरीको धुनसँगै गाउन हामी थाल्छौं‘, ‘पढ्नु भनेको के हो नानी‘, ‘नेपालका हामी साना बालबालिका बोलका गीत प्रस्तुत हुँदा गीतकार रामबाबु सुवेदी र दुर्गालाल श्रेष्ठसँग सम्बन्धित प्रसङ्गहरू पनि निक्लिएका थिए । बालगीतकै क्रममा कवि दुर्गालालको शब्दमा रहेको नेपाल भाषाको बालगीत इमु छम ल्येँ दुलाई नेपालीमा एउटा कमिला माटोमा‘ बनाई सुनाइएको थियो ।

छन्द कवितालाई समेत आत्मसात् गर्दै कार्यक्रमलाई अघि बढाइरहेका रामकृष्ण दुवालले सामाजिक उत्तरदायित्वका गीत पनि प्रस्तुत गरेका थिए । गीतकार श्याम तमोटले रचेको हेर आज नेपाली बसाइँ हिंडेको‘ गीतले विगतको नेपाललाई चित्रण गरेको थियो । तर त्यो सुन्दा वर्तमानकै यथार्थ हो कि जस्तो भान हुन्थ्यो ।

कार्यक्रम सञ्चालक भनिरहेका हुन्छन्- देशमा राजनैतिक परिवर्तन भए पनि सत्ताको मानसिकतामा पुरानै प्रवृत्ति कायम रहेपछि कवि-कलाकारहरू विद्रोही बनिरहन्छन् र आफ्ना सृजनाले समाजलाई झकझकाइरहन्छन् । एक जुगमा एकदिन एकचोटी आउँछ‘ गोपाल प्रसाद रिमालको सदाबाहर विद्रोही गीत हो ।

नेपाल भाषाको दाफा गायनबाट सुरू भएको पलेँटीको अन्तिम खण्डमा फेरि नेपाल भाषाकै गीत प्रस्तुत भएका थिए । यस चरणमा निक्कै वर्षदेखि लोकप्रिय रहँदै आएको सिर्साया हेकू‘ बोलको लोकगीत प्रस्तुत भएको थियो । अभिज्ञा घिमिरेले केही दिनको अभ्यासमा आफूलाई बोल्नै नआउने भाषाको गीत गाइरहेकी थिइन् । सिर्साया हेकू‘ गीत टुङ्गिनासाथ दर्शकदिर्घाबाट तालिको गडगडाहटसँगै ‘वान्समोरको आग्रह ओइरिएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा नेपाल भाषाका दुईवटा रचनाहरू प्रस्तुत भएका थिए । हे मन मेले वने छाय्‘ बोलको गीत प्रस्तुतिपछि रामकृष्ण दुवालले एउटा ऐतिहासिक रचना सुनाएका थिए । भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लले आफू काशीबास जानु पहिले यो गीत रचेको भनाइ रहेको छ । काशी निर्वासित हुँदैगर्दा चन्द्रागिरीको उचाइमा बसेर रणजीतले सो गीत सृजना गरेको र त्यसको धुनलाई आफूसँगै रहेका कुनै मानन्धरलाई सिकाएको भनाइ रहेको छ । धुन सिकाइसकेपछि रणजितले तिनै मानन्धरलाई उपत्यकामा फर्केर गीतको प्रचार गर्न अह्राएको सन्दर्भ उल्लेख गरिएको थियो । 

यो गीतमा रणजित मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको विरह समेटेका छन् । कार्यक्रम संचालकले अन्तिम मुगल सम्राट बहादुर शाह जफरले वर्मा निर्वासनमा सृजना गरेको उर्दू गजलका दुई हरफ उल्लेख गरे 

 कितना है बदनसीब ज़फर‘ दफ्न के लिए,

दो गज़ ज़मीन भी न मिली कू-ए-यार में

त्यसपछि रणजित मल्लको गीतका दुई हरफ-

हाय हाय ! राम राम कसरी बिर्सौं यो नेपाल

मित्र रुपका दुर्जनबाट पारिएँ आज म बेहाल

 माथिका हरफ उल्लेख गर्दै आभासले बहादुर शाह जफरभन्दा ७३ वर्ष पाका रणजित मल्ल र जफरको भोगाइ र अनुभूति उस्तै रहेको धारणा राखे ।

 गीतको समापनसँगै भावुक बनेका रामकृष्ण दुवालले छेउमै रहेको हाते रुमाल निकाले र पसिना पुछे झैँ गरि रसिला गह पनि पुछे । यसपालीको पलेँटी भावुक मोडमा समापन भयो ।

 कार्यक्रम सकेर आरशालाबाट बहिरिएका दुई साहित्यकार नारायण वाग्ले र कवि श्रवण मुकारुङ बात मारिरहेका हुन्छन्  – भावुक बन्नलाई भाषा नै कहाँ चाहिँदो रैछ र रणजितको ठाउँमा आफैँलाई राख्दा त झण्डै झण्डै रोइपठाइन्छ कि झैँ पो भो त ।‘ श्रवण खुलेर हाँसिरहेका हुन्छन् ।

श्रवणको अनुभूतिमा सहमत हुँदै नारायण वाग्ले भनिरहेका हुन्छन- ‘सङ्गीत आफैँ शक्तिशाली भाषा हो नि !’

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ तबलामा मिलेश तण्डुकारबाँसुरीमा मिलन घिमिरेप्रकशनमा पारशमणि सुबेदीगिटारमा प्रविण पुलामी मगरबेस गिटारमा कृपेश लोहनीकीबोर्डमा  सुनिल सिंहको साथ रहेको थियो ।

आगामी सेप्टेम्बर महिनाको पलेँटीमा प्रसिद्ध कण्ठशिल्पी ज्ञानुराणालाई निम्त्याइएको जानकारी नेपालयले गराएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?