मानिसलाई कसले मार्छ? प्रकृतिले वा आफैँ?

मानिसलाई कसले मार्छ? प्रकृतिले वा आफैँ?
+
-

संसारमा एकथरी मानिस छन्,जसले आफूले आफूलाई अमर ठान्छन् । आफूले हिँडेको बाटो उत्तम भनी दाबी गर्छन् र आफ्नो विचारको फ्रेम अरुका लागि तयार पारिहिँड्छन् । उनीहरु आफू चन्द्रलोकमा जन्मिएको र पृथ्वी घुम्न आएको जस्तो कुरा गर्छन् । अर्को थरी भने, आफूले जेसुकै गरे पनि आफैँलाई दोषी देख्छन्। निरीह देख्छन्। सायद यही,आफूले जेसुकै गरे पनि आफ्नो भागमा ग्लानि मात्रै बाँकी राख्ने मानिसले जीवनलाई अन्त्य गर्छ या भनौ आत्महत्या रोज्छ होला कि ।

मानिस जुनसुकै धरातलमा जन्मिए र उभिए पनि सबैमा एक थान मष्तिष्क छ। सायद यही मस्तिष्क भित्र सबैथोक हुन्छ, खुशी, दुःख, पिडा आफूलाई अन्त्य गर्ने विचार वा अनन्त कालसम्म बाँच्ने इच्छा । मानिसका जीवन र मरणका कथाहरू इतिहासमा पनि थुप्रैपटक लेखिए। कोही बहादुर, वैभवले भरिपूर्ण भएर पनि आत्महत्या रोजे । कसैले रोगव्याधि, पिडा सहेर पनि पूरा जीवन संङ्घर्ष गरे । जीवनको अन्तिम सास रहेसम्म बाँचे। तर आत्महत्या गर्नेहरुको इतिहास सबैकालमा कलङ्कित छ। डर, लाज र त्रास सँग जोडिएको देखिन्छ। आत्महत्याका घट्नालाई लुकाइन्छ। समाजले कलङ्कित गर्छ भने र कानुनले अपराध करार गरेको देखिन्छ।

केही विषयबस्तुमा पेशागत छनोट गरेपछि बढी चासो हुने रहेछ र यससँग सम्वन्धित केही विषयवस्तु पेशागत सुविधाले छलफल गर्न सकिने रहेछ; अग्लो ठाउँको फल टिप्ने सुविधा अग्लो मानिसलाई भएजस्तै। परामर्श मनोविज्ञान सम्बन्धी पेशाकर्मी भएकाले मलाई यस मनोसामाजिक समस्याको बारेमा लेख्ने सुविधा छ; गाडीको दायाँ झ्यालतिर बसेको व्यक्तिलाई दायाँतिरको दृश्य हेर्ने सुविधा भएजस्तै। केही सुविधा पेशाजन्य हुँदा रहेछन्; कृषकले खन्दाखेरि उसको शारीरिक व्यायाम भएजस्तै। धेरै आत्महत्याका घट्नाहरुले पटक-पटक चिन्तित बनाएको छ; कक्षामा गणित विषयमा धेरै विद्यार्थी फेल हुँदा गणितको शिक्षक चिन्तित भएजस्तै।

त्रि-चन्द्र क्याम्पस र कीर्तिपुरमा परामर्श मनोविज्ञान अध्ययन गर्दै जाँदा आत्महत्याबाट ज्यान गुमाएकाहरुको याद गरियो, कथा सुनियो। पछि कामको सिलसिलामा पनि थुप्रै घट्नाको बारेमा सुनियो, देखियो, पढियो, मनोपरामर्शकर्ताहरुलाई सुपरीवेक्षण प्रदान गरियो, गर्ने प्रयास गरियो। तर एक सवालको जवाफ त्यति सहज भेटिएन, मानिसले किन आफूले आफूलाई नै मार्न तल्लिन हुन्छ? किन बाँच्न मन नलाग्ने हुन्छ त? आवेगी प्राणी भएर वा आशा सकिएर वा मानसिक रोगको सिकार भएर?

पक्कै पनि उत्तर बहुआयामिक छ। विभिन्न कारणहरुले गर्दा व्याक्तिले आफ्नो भावनाहरू, विचारहरू बाहिर अरुलाई साट्न सकिरहेको हुँदैन र आफ्नो जीवनलाई सकाउनपट्टि लाग्छ।

यी कारणहरुलाई आन्तरिक, परिस्थितिजन्य र सामाजिक-सांस्कृतिक गरेर विभाजन गर्न सकिन्छ होला। आन्तरिक कारणहरुमा तनाव, डिप्रेसन आदि। परिस्थितिजन्यमा आफन्तको मृत्यु, रोगव्याधि, बिछोड आदि। अनि केही सामाजिक सांस्कृतिक परिवेशमा लान्छना, भेदभाव, बेरोजगारी, आदि। एक ठाउँमा पढेको थिएँ, ‘मानिस जन्मिँदा त परी भएरै जन्मिन्छ तर पछि समाजले भ्यागुता बनाइदिन्छ।’ सायद यो कथनले मानिसमा पर्ने समाजिक नकारात्मक प्रभावलाई इङ्गित गर्न खोजेको होला।

मानिसले किन आफूले आफूलाई नै मार्न तल्लिन हुन्छ? किन बाँच्न मन नलाग्ने हुन्छ त? आवेगी प्राणी भएर वा आशा सकिएर वा मानसिक रोगको सिकार भएर?

विश्वमा हरेक वर्ष ७ लाखभन्दा बढी मानिसले आत्महत्याका कारण आफ्नो ज्यान गुमाउन थालेपछि, आत्महत्याको असर बहुआयामिक हुन थालेपछि, दिगो विकास लक्ष्यमा असर पर्न थालेपछि मानिस किन बाँच्नुपर्छ या आत्महत्या किन रोकथाम गर्नुपर्छ भन्ने मुद्दाले वर्तमान समयमा बढी ध्यान तानेको देखिन्छ। मानिसमा जीवन जिउने जिजिविशा जन्मजातै हुन्छ। सयौं वर्ष बाँच्न मन लाग्छ। रमाइलो मन पराउँछ र खुसी हुन चाहन्छ। भनिन्छ आत्महत्याको बाटो रोज्ने व्यक्तिले पनि प्राथमिक रुपमा आफ्नो जीवनलाई अन्त्य गर्न चाहेको हुँदैन।

त्यसैगरी अर्को विषयवस्तु भनेको आत्महत्याको कारण व्यक्ति केवल आफूलाई मात्रै गुमाउँदैन। उसले विभिन्न आश्रित व्यक्तिहरूलाई पीडामा छोडेर गएको हुन्छ। दुखिःत बनाएको हुन्छ। यसले आफूसँगै परिवार र समाजलाई पनि प्रभावित पारेर जान्छ। विश्व स्वास्थ्य संगठन र अन्य विभिन्न अध्ययनको सारले के भन्दछन् भने आफूले आफैँलाई मरणको कथा लेख्दा कम्तिमा पनि १ सय ३५ जना प्रभावित बनाएर जान्छ। बाँचेकाहरू पनि शोक तथा गुमाइको पीडामा रहन्छन् भने समाजबाट लान्छना र कलंकका सिकार भएका हुन्छन्।

हरेक वर्षझैँ यसवर्ष पनि सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस् मनाइँदैछ। हाल विश्वमा युद्ध, मलेरिया, स्तनको क्यान्सर, एचआइभी एड्स भन्दा बढी मानिसको आत्महत्याद्वारा मृत्यु हुन्छ। धेरै मानिसले आत्महत्याको बारेमा सोचिरहेका हुन्छन् केहीले प्रयास गर्छन्, अनि केहीले आत्महत्या गर्छन् र विश्वभरिको आत्महत्या गर्नेको संख्या जोड्दा ७ लाख बढी पुग्छ। यही लाखौंको संख्याले करोडौंको संख्यामा आफन्तहरुलाई दुःखमा छोडेर जान्छन् वा प्रभावित गर्छन् । नेपालमा पनि गत आर्थिक बर्ष २०८१/०८२ मा नेपाल प्रहरीको तथ्याँकअनुसार ६ हजार भन्दा बढी व्याक्तिले आत्महत्याको कारण ज्यान गुमाएका छन्।

मनोविज्ञानले भन्छ, मानिस आवेगी पनि हुन्छ, आवेगले मार्छ या यस्तै गरी मानसिक तथा भावनात्मक पीडा धेरै हुँदा पनि यो बाटो रोज्न सक्छ या परिस्थितिजन्य तनाव सहन नसकी यसबाट भाग्न यसो गर्छ या आशा सकिएपछि आत्महत्याको बाटो रोज्छ वा मन तथा भावनाको रोग लाग्छन्, उदासीनता हुन्छ, यसले मार्छ। चाहे आफूले आफूमाथि रिस व्यक्त गरेको होस् वा समस्याबाट भाग्न खोजेको वा समस्या भोगेको वा परिस्थितिबाट भाग्न खोजेको जेसुकैकारण दिए पनि आत्महत्याको वारेमा खुलेर छलफल भएको देखिदैन, कुराकानी भएको देखिँदैन र मन बुझाउने, जीवन र मरण प्राकृतिक तवरले हुदा उपर्युक्त हुन्छ, दुःख बाँड्न सकिन्छ, हामी सहयोग गर्न तयार छौँ भन्ने भावको सम्वाद हुन सकेको देखिदैन। आत्महत्यालाई खुलारूपमा छलफल गरिएको छैन। आत्महत्याका घटना तथा विषयवस्तुलाई इतिहासकालदेखि नै लुकाइएको छ। यदि यो विषय खुला छलफल भएमा र रिपोर्टिङमा आएमा आत्महत्या रोकथामका लागि योजना बनाउन र आत्महत्याको सोचाइ, प्रयास तथा व्यवहार कम गर्न मद्दत मिल्दछ। यसका लागि सामुदायिक स्तरमा, विद्यालयमा, कार्यस्थलमा खुला छलफल गरिनुपर्दछ। आत्महत्याको सोचाइ व्यवहार भएकालाई जोगाउनु पर्दछ। आफन्त गुमाएकाहरुलाई पनि भावनात्मक कठिनाइ कम गर्न सहयोग गर्नुपर्दछ। संसारमा एकले अर्कालाई सहयोग गरेमा, सँगसँगै कुरा बाँडेमा, जीवन जिउन सबैको लागि सहज बन्दछ।

प्रत्येक पेशाकर्मीको आफ्नो धर्म हुन्छ। सामुदायमा सञ्चारका माध्यमद्वारा मानिसले धेरै कुरा सिक्छ। व्यबहार अबलम्वन गर्छ। त्यसमा काम गर्ने सञ्चारकर्मीले पनि आत्महत्या सँग सम्वन्धित समाचार तयार गर्दा जिम्मेवार तरिकाले गर्नुपर्छ। त्यस्तै गरेर आत्महत्याका घटनालाई बढाइँचढाइँ बारम्बार नभन्ने बरु त्यसको सट्टामा आशाका तथा जीवनमा पाएका सफलताका कथाहरु भन्नुपर्ने हुन्छ। त्यसैगरी, विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले भन्छ, जनस्तरमा आत्महत्या गर्नसक्ने स्रोतहरूको पहुँचलाई कम गर्नुपर्दछ। युवा-युवतीहरूलाई जीवन जिउने सीप सिकाउनुपर्ने हुन्छ, आत्महत्याको सोच, विचार तथा व्यवहारबाट प्रभावित व्यक्तिहरूलाई समयमै पहिचान गरी उपचारमा सहयोग गर्नुपर्ने हुन्छ। यी कामहरु गर्नको लागि महत्वपूर्ण पाटो नीति निर्माण हो। नीति तथा रणनीतिले राजनीतिक प्रतिबद्धता र कानुनी स्पष्टता देखाउँछ। के गर्ने, कहिले गर्ने र कसरी गर्ने जस्ता परिभाषित लक्ष्यहरु उल्लेख हुन्छन् र कार्यान्वयनमा स्पष्टता आउँछ। अनुगमन तथा निगरानी प्रणाली बलियो हुन्छ।

अब जुनसुकै परिवेश वा परिस्थिति वा घटना भए पनि आत्महत्याको विषयमा हाल मानिसमा मौनतालाई संवादमा परिवर्तन गर्न अत्यावश्यक छ। आत्महत्या सबैको साझा जिम्मेवारी भएको कारण आत्महत्याको सोचाइ, प्रयास वा व्यवहार देखाउने व्यक्तिलाई उसको आत्महत्याजन्य संकेतहरुलाई समयमै पहिचान गरी रोकथाम गर्न सकिन्छ। समुदायका र राष्ट्रका प्रत्येक नागरिकले आ-आफनो ठाउँबाट स-सानो भए पनि सहयोग गर्न सक्छन्। विभिन्न पेशाकर्मीहरूले जस्तै, प्रहरी,स्वास्थ्यकर्मी,मनोपरामर्शकर्ता, मनोविद तथा मनोचिकित्सकहरुले मनोपरामर्श तथा औषधिजन्यउपचार गर्नुपर्ने हुन्छ। आफ्नो नजिकको स्वास्थ्य संस्थाबाट तथा आत्महत्याको रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा पनि फोन गरी निःशुल्क मनोपरामर्श सेवा लिन सकिन्छ।

(लेखक सीएमसी– नेपालमा सुपरीवेक्षक मनोविद्को रुपमा कार्यरत छन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?