
गुनासोको नदी निरन्तर बगिरहेछ
देशका प्रत्येक कुनामा,
हरेक गल्ली, हरेक चोकहरूमा
जनताको स्वर सुनिन्छ-
‘हाम्रो कुरा को सुन्छ?’
सरकार भन्छ- ‘हामी सुन्छौँ’
तर, फोन बज्छ, उठ्दैन
‘हेल्लो सरकार’को लाइनमै
जनताको गुनासो हराएर जान्छ।
टेलिफोनको घण्टीले
देशकै पीडा सुनाउँछ-
तर, मौन छ सरकार।
चिया पसलको कुर्सीमा
राखिएको चुरोटको धुवाँले
देशको भविष्य धुमिल देखाउँछ
त्यहाँ बहस हुन्छ-
‘देश किन बनेन?’
नेताले औँला देखाउँछन् कर्मचारीतिर
कर्मचारीले फर्काउँछन् नेतातिर
र, नियमहरूले आफैँलाई बाँधेर राख्छन्
अदृश्य डोरी जस्तो।
जनताको सुविधालाई भनेर
उद्घाटन गरिएका पुलहरू, सडकहरू
जनताकै आँसुको बाटो बन्छन्
पुल अधुरो रहन्छ
सपना टुट्छ
आशा भत्किन्छ
निर्माण व्यवसायी भन्छन्-
‘सरकारले काम गर्ने वातावरण दिएन’
सरकार भन्छ-
‘व्यवसायीले काम गरेन’
मजदुर भन्छन्-
‘हामीले पसिना बगायौँ
तर पसिनाको मूल्य पाएनौं।’
गुनासोको चक्र अनन्त छ-
जसरी पृथ्वी घुमिरहन्छ
त्यस्तै गुनासो पनि घुमिरहन्छ
घर पुगेपछि पनि
श्रीमतीको गुनासो श्रीमानसँग
श्रीमानको गुनासो जीवनसँग।
हरेक मान्छेको गुनासो हरेक मान्छेसंग
अरू कसैलाई दोष दिन व्यस्त छन्
तर, दोष दिने चक्रले
देशलाई उचाल्दैन
उल्टै भत्काउँछ।
यहाँ त कागती पनि
अमिलो भएकामा दोषी ठहरिन्छ।
हावा चलेन भने आकाशमाथि गुनासो,
पानी परेन भने बादलमाथि गुनासो
गुनासोमाथि गुनासो
यो देश गुनासोको असीम समुद्रमा
डुबिरहेको छ।
तर, भट्टी पसलको साँझमा
एक पीएले भन्यो-
‘अब गुनासो बन्द गरौँ
गुनासोले देश बन्दैन्
गुनासोले सपना पूरा हुँदैन
गुनासो शब्द मात्र हो
तर, प्रश्न जागरण हो
कर्म परिवर्तन हो।’
शब्दहरू कर्मसँग मेल खानुपर्छ
नत्र शब्दहरू आफ्नै मूल्य गुमाउँछन्
देश बनाउने कुरा कागजमा होइन
घाममा पसिना चुहाउने हातमा हुन्छ।
मालपोत, अदालत, अस्पताल, विद्यालय
जहाँजहाँ अन्याय छ
त्यहाँ प्रश्न उठ्नुपर्छ
जहाँ भ्रष्टाचार छ
त्यहाँ प्रतिरोध गर्नुपर्छ
जहाँ मौनता छ
त्यहाँ आवाज जगाउनुपर्छ।
अब गुनासो होइन
प्रतिज्ञा गरौँ
अब दोषारोप होइन
जिम्मेवारी लिन सिकौँ
अब प्रतीक्षा होइन
कदम चालौँ।
त्यस दिन
जब जनता, सरकार र प्रणाली
उही एउटै दिशातिर अघि बढ्छन्
जब शब्द र काम एउटै भाषामा बोल्छन्
त्यस दिन देश बन्छ
देश जाग्छ
देश हाँस्छ
र, गुनासो होइन
गौरवको गीत गुञ्जिन्छ
यस धर्तीमा।
- नुवाकोट, (हाल, लिस्बन पोर्तुगल)