
हरेक मान्छेको आ–आफ्नै कथा हुन्छ। तर के सामान्य मान्छेको आत्मकथा हुन्छ? लेखक भीम न्यौपानेले आफूलाई यही प्रश्न गर्दै लेखेका थिए, ‘बादलमुनि बागलुङ’ आत्मकथा पुस्तक।
आफ्नो अन्तर्मनको चेतनामा के सामान्य मान्छेको कथा हुन्छ भन्ने प्रश्नले उनलाई आत्मकथा लेख्ने लेखक बनायो।
पेशाले ट्राभल व्यवसायी लेखक भीमगोपाल न्यौपाने आफ्ना संघर्षका कथा सुनाउन चाहन्थे। आफूले बाँचेर आएको समयको कथा अरूले पनि थाहा पाउनु पर्छ भन्ने लाग्थ्यो उनलाई। तर सामान्य मान्छेको कथा नपढ्ने समाजका हामी आत्मकथालाई कसले पढिदिने? तर भीमले हार मानेनन्। सामान्य मान्छे पनि असमान्य हुन्छ भन्ने दर्शनले उनलाई छोप्यो। अनि लेख्न थाले सन् २०१७ बाट बादलमुनि बागलुङ।
‘सात वर्षअघिदेखि मैले लेख्न थालेको थिएँ। तर २०१९ को मध्यबाट विश्वव्यापी रूपमा कोराना महामारी फैलिएपछि किताब सक्ने हुटहुटी चौगुनाले बढाइदियो,’ उनले भने,’कोरानाले मेरो परिवारलाई खासै ठूलो क्षति त पुर्याएन तर जे देखेँ त्यो भयानक थियो। बाँचिन्न कि क्या हो भन्ने डर पनि आयो। डरैडरले आत्मकथा लेखी सकेको हुँ।’
भीम समय पाएसम्म किताब पढ्छन्। किताबमा विशेष उनलाई बीपीका किताबले अहिले पनि झक्झकाइरहन्छ। बीपीका उपन्यासलाई अझै सम्झिन्छन्। बीपीको आत्मवृत्तान्त पढेर कयौ रात ननिदाएको संस्मरण छ उनीसँग। आफ्नो आत्मकथा लेख्ने दुश्वास बीपीकै आत्मकथा पढेर आएको बताउँछन्।
भन्छन्, ‘म राजनीतिकर्मी पनि होइन। देशलाई योगदान दिएको व्यक्ति पनि होइन तर दुःखहरू मेरा पनि छन् र मैले बाँचेको समाजमा अनेकन हण्डर छन्। त्यसैले शब्दमा बुन्न मन लाग्यो र लेखेको हुँ।’
भीम लेखक त होइनन् तर आफ्ना कथाहरू उनले कापीमै लेखे। पाना-पाना लेखे। दैनिक लेखे। बागलुङ चिरपानीदेखि यात्रा गरेर चितवन काठमाडौँ र अष्ट्रेलियासम्मको यात्रामा अनेकन दुःख, हण्डर खाए र त्यसलाई किताबको रूपमा बजार ल्याए।
जीवनको यात्रामा भीमले सहरका कंक्रिट दुनियाँभन्दा पर चिरपानी बागलुङको संस्कृति, संस्कार र माटोको सुगन्धलाई बिर्सिन सकेनन्।
भन्छन्, ‘मेरो समयको कथा एकदम अर्गानिक थियो र छ। हाम्रो बाल्यकाल र किशोर उमेरमा गाउँले जीवन धर्म र सत्यसँग निकट थियो। चिरपानीको गाउँ र त्यो जीवनशैलीले मलाई सधैं प्रेरित गरिरह्यो।’
दुःखसुख झेलेको मान्छेको आफ्नै मौलिक संघर्ष हुन्छ नै। गाउँदेखि हिँडेका भीमका पनि गाउँनै सिङ्गो विश्वविद्यालय थियो। गाउँको आधार बलियो भयो। गाउँ घर परिवार र गाउँले समाजले संघर्ष झेल्न प्रेरित गरेको बताउने भीम भन्छन्, ‘सामान्य मान्छेको पनि जीवनमा निकै उतारचढाव आउँछ। दुःखको अनेकन पाटाहरू हुन्छन्। सफलता असफलता हुन्छन्। घात प्रतिघात हुन्छन्।’
भीम भन्छन्, ‘दुःखको भकारी हरेक मान्छेसँग हुन्छ मात्र भन्न सक्ने नसक्ने हुँदो रहेछ। समाजमा म पनि चिनिएको मान्छे होइन तर मैले लेखेँ आफ्नै दुःखको कथा।’
पुस्तकमा बाको मुरली र कर्मी शीर्षकमा उनी बाल्यकालको गाउँ र बुवाले चलाउने औजारको मिहिन बर्णन गरेका छन्। ती औजार नभएको भए सायद आजको स्थान पुग्दिनथे भन्ने लाग्छ उनलाई।
कलाकार/निर्माता
काठमाडौँको गल्लीमा हिँड्दा हिँड्दै सिनेमा हेर्ने आदत बसाले र विस्तारै कलाकार हुने रहर पलाए। अनि विस्तारै सहरमा कलाकारहरू खोज्दै हिँडे। कलाकार खोज्दै काठमाडौँका गल्लीहरू निकै भौतारिए। कहिले हिँडेर कहिले साइकलमा यात्रा जारी राखिराखे। त्यसैले त उनी अहिले चलचित्र निर्माण कम्पनी भीम गोपाल इन्टरटेनमेन्टका संस्थापक हुन्। उनी
भन्छन्, ‘कुनै समय कलाकार हुने हुटहुटी खुब थियो। हिरो नै भइन्छ कि जस्तो नलागेको पनि होइन। तर कलाकार भएर काम अलिअलि गरेको पनि छु र विशेष फिल्म निर्माणमा भने अहिले पनि निरन्तरता दिँदै आइरहेको छु।’
अनुप बराल निर्देशित दोख, सुनकेशरी, बाटोमुनिको फूल २ जस्ता चलचित्रमा उनले लगानी गरेका छन् बुद्ध ट्राभल्स एण्ड टुरमार्फत अष्ट्रेलिया न्युजिल्याण्ड र नेपालबाट सेवा दिँदै आइरहेका भीम अहिले पनि चलचित्रलाई माया मार्न सकेका छैनन्। ‘धेरथोर लगानी गरेको थिएँ। तर एक पैसा फर्किएन। अब त सोलो निर्माता भएर काम गर्ने मुड बनाइरहेको छु।’