
- बैतडीमा यज्ञसिंह धामीले धारिलो हतियार बञ्चरोले काकी बेलमती धामीको घाँटीमा प्रहार गरेर हत्या गरेका छन्।
- बेलमती घरमा सुतेकै अवस्थामा बञ्चरो प्रहार भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
- कैलालीबाट आएका यज्ञसिंहले चार दिनअघि घर पुगेर आमालाई कुटपिट गरेको आफन्तले जानकारी दिएका छन्।
बैतडी– बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाले काकीको हत्या गरेका छन्। जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले अन्दाजी ३४ वर्षीय बेलमती धामीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।
आइतबार राति ११ बजेतिर घरमा सुतिरहेको अवस्थामा नै घाँटीमा बञ्चरो प्रहार गरी बेलमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिए। ‘मृतक बेलमती यज्ञकी आफ्नै काकी हुन्, उनको घाँटी र मुखमा बञ्चरो प्रहार गरिएको छ’, उनले भने, ‘घटना के कति कारणले भएको हो अनुसन्धान भइरहेको छ।’
हत्या गर्ने यज्ञसिंह हुलाकका अतिरिक्त कर्मचारी हुन्। कैलालीमा रहेका उनी यही भदौ १९ गते मात्रै घर आएका आफन्त जयसिंह धामीले जानकारी दिए। चार दिन पहिले मात्रै घर आएका उनले यसअघि आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन्।
‘चार दिनपहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बञ्चरोले घाँटीमा हिर्काएर घरभित्रै मारिदिए’, जयसिंहले भने।
मृतकका श्रीमान्को यसअघि मृत्यु भएको थियो। बेलमतीका चार छोरी र एक छोरा छन्। शवपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। हत्या गर्ने यज्ञलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ।