आफ्नो गल्तीको कुनै समीक्षाबिना तीन दिनपछि बोल्यो एमाले, भन्यो- संविधानबाटै समाधान खोज्नुपर्छ

आफ्नो गल्तीको कुनै समीक्षाबिना तीन दिनपछि बोल्यो एमाले, भन्यो- संविधानबाटै समाधान खोज्नुपर्छ
+
-
देशसञ्चार AI सारांश
  • एमालेले देशमा भएको विध्वंश र जनधनको क्षतिपछि राजनीतिक समस्याको समाधान संविधानबाटै खोज्न आग्रह गरेको छ।
  • पार्टीले आगजनी र लुटपाटको जिम्मेदार व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग गर्दै निष्पक्ष छानबिन गर्नुपर्ने बताएको छ।
  • सबै सुरक्षा निकायलाई शान्ति सुरक्षामा ध्यान दिने र जनधनको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न आह्वान गरिएको छ।

देशमा भएको अकल्पनीय विध्वंश र जनधनको क्षतिको तीन दिनपछि एमालेले बिहीबार एक विज्ञप्ति निकाली संविधानबाटै सबै समस्याको समाधान गर्न आग्रह गरेको छ।

महासचिव शंकर पोखरेलको नाममा निकालिएको विज्ञप्तिमा एमालेले आफ्नो गल्ती र भूमिकाको एक शब्द पनि समीक्षा गरेको छैन।

उसले भनेको छ- ‘प्रधानमन्त्रीको राजिनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं।’

जेनजीको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट एमाले स्तब्ध भएको र लुटपाट तथा विनाश रोक्न राज्यका निकाय किन प्रभावकारी हुन सकेनन् भनी एमालेले प्रश्न गरेको छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जबर्जस्ती गरेको सामाजिक सञ्जालन बन्द गर्ने निर्णयपछि जेनजीले भ्रष्टाचार र नातावादबिरुद्ध सोमबार देशव्यापी आन्दोलन गरेको थियो।

यस्तो छ एमालेको विज्ञप्ति:

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादको विरोध, सुशासन लगायत विभिन्न माग राखेर Gen-Z युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध भएको छ । घटनामा परी जीवन गुमाउनु हुने सबै युवाहरूप्रति पार्टी पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । ठुलो सङ्ख्यामा रहनुभएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफन्तको वियोगको पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । पार्टी उपरोक्त दुखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने माग गर्दछ ।

त्यस घटनाको लगत्तै भदौ २४ गते देशव्यापी रूपमा आगजनी, तोडफोड, हिंसा र लुटपाटको त्रासदीपूर्ण दृश्य देखा पर्यो । सङ्घीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार र त्यहाँ अवस्थित सबै मन्त्रालयहरू, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सबै जसो प्रहरी कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियार लगायत संवैधानिक निकाय र देशैभरिका विभिन्न सरकारी कार्यालय ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरू जलेर नष्ट भएका छन् । विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरूम, ब्याङ्क लगायत खबौं मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पारिएका छन् । १३ हजार भन्दा बढी कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्कँदा शान्ति सुरक्षामा गंभीर चुनौती थपिएको छ । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरू निशाना बनाइएका छन् । कतिपय स्थानमा मान्छेहरू जिउँदै जलाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौं पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो राष्ट्र स्तब्ध भएको छ । राष्ट्रले व्यहोर्नु परेको यस भयावह विनाशप्रति पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ । सङ्लग्न दोषीहरू पहिचान गरेर कडा कानुनी कार्बाही गरिनु पर्छ भन्ने माग गर्दछ । ३. आयोजकहरूबाट आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहने पूर्व घोषणा भएको थियो । घटनापछि पनि आगजनी, लुटपाट र तोडफोड जस्ता यस्ता घटनाहरूमा आफूहरूको कुनै सङ्लग्नता नरहेको जानकारी दिइएको थियो । आयोजकहरूले योजना विपरीत यस्ता विध्वंसात्मक र विनाशकारी घटना कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ र सत्यतथ्य बाहिर ल्याइनैपर्छ । यस विध्वंशका योजनाकार र दोषीहरूलाई कानुनी दायरामा ल्याइनु पर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ । यति ठुलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि पनि समीक्षा हुनुपर्छ ।

प्रधानमन्त्रीको राजिनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।

यस्तो विषय परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ-आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ । स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौं ।

असामान्य स्थितिको लाभ उठाउँदै अझै पनि देशका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेका देखिन्छन् । यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूको गंभीर ध्यानाकर्षण गर्दछौं ।

स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने छ । हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामहरूबारे औपचारिक निर्णय गरिने नै छ ।

नेकपा (एमाले) सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको दोहोरो हिंसा, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल परिस्थिति, प्राकृतिक विपत्तिहरू एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरूमाथि विजय हासिल गर्दै यहाँसम्म आइपुगेको छ । आजको प्रतिकूल अवस्था पनि यही रूपमा रहने छैन, अन्त्य भएर जानेछ । यस्तो विषम परिस्थितिमा केन्द्रीय सचिवालय सबै नेता कार्यकर्ताहरू, सदस्य र समर्थ- शुभेच्छुकहरू, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनका नेता कार्यकर्ता सहित सिङ्गो पार्टी पङ्क्तिलाई दृढ र एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ । ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरूको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम गर्न र जनतालाई परेका पीरमर्कामा संभव सहयोग प्रदान गर्न पार्टी पङ्क्तिले स्वयंसेवी भूमिका खेल्नु पर्दछ । प्रतिकूल अवस्थामा सबै कमरेडहरूसँग आपसी सम्पर्क र छलफलमा रहन, सम्बन्धित स्थानका संविधान- पक्षधर दलहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न एवं परिस्थिति अनुसार रचनात्मक ढङ्गले अघि बढ्न पनि आग्रह गर्दछौं । यतिबेला उच्च मनोबल कायम राख्नु, प्रतिकूलतालाई चिर्नु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु आवश्यक छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’