
पोखरा – कास्की कारागारबाट भागेका कैदीबन्दी फर्कन थालेका छन्। शनिबार दिउँसोसम्म १२० जना फर्किएका हुन्।
दोस्रो दिनको जेन–जी समूहको प्रदर्शनका क्रममा प्रर्दशनकारीले तोडफोडमा उत्रिएर कारागारका कैदी भगाएका थिए।
कास्की कारागारका प्रशासन प्रमुख राजेन्द्र शर्माकाका अनुसार ७७३ कैदीबन्दी भागेका हुन्। तीमध्ये ३५ जना महिला रहेका उनले बताए। कास्कीमा लमजुङका समेत कैदीबन्दी थिए।
‘कोही आफैं फर्किएर आउनुभएको छ। कोहीलाई प्रहरीले पक्राउ गरेर पठाएको हो’, शर्माले भने।
कास्कीसँगै तनहुँ, गोरखा, म्याग्दी प्रहरीले पनि भागेका कैदीबन्दीलाई पक्राउ गरेर कारागारमा पठाइरहेको छ।
तनहुँमा पनि ७८ जना कैदीबन्दी फर्किएका छन्। पक्राउ परेका र फर्किएकामध्ये ९ जना महिला रहेको कारागार प्रशासनले जानकारी दिएको छ।
तनहुँबाट ३२६ जना कैदीबन्दी भागेका हुन्। भागेका कैदीबन्दी २० जना महिला थिए। तनहुँमा पनि लमजुङका कैदीबन्दीसमेत छन्।
म्याग्दी कारागारबाट ७६ जना कैदीबन्दी भागेका थिए। उनीहरुमध्ये ३५ जनालाई नियन्त्रणमा लिइसकेको छ। म्याग्दीमा कारागारबाट थुनुवा र कैदीलाई भगाउन सघाउने ५ जना पक्राउ परेका छन्।