
- झापा जिल्लाका बिर्तामोड, दमक र भद्रपुर नगरपालिकामा २८ भाद्र साँझ ६ बजेबाट बिहान ४ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।
- निषेधाज्ञा अवधिमा कुनै सभा, सम्मेलन, जुलुस, प्रदर्शन वा पाँच जनाभन्दा बढी भेला गर्न निषेध गरिएको छ।
- आदेशको उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न अनुरोध गरिएको छ।
झापा — जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक नगरपालिका क्षेत्रभर, साथै भद्रपुर नगरपालिकाका केही क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रशासनले सर्वसाधारणको जीवन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न आवश्यक ठानी २०८२ साल भाद्र २८ गते बेलुकी ८ बजेदेखि भाद्र २९ गते बिहान ५ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, यस अवधिमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, सम्मेलन तथा पाँच जनाभन्दा बढी व्यक्तिहरूको हुलहुज्जतमा जमघट गर्न पूर्णरूपमा निषेध गरिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ (संशोधित सहित) को दफा ६ को उपदफा (३) बमोजिम जारी गरिएको यो निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरू
१. बिर्तामोड नगरपालिकाको सम्पूर्ण क्षेत्र
२. दमक नगरपालिकाको सम्पूर्ण क्षेत्र
३. भद्रपुर नगरपालिकाको केही क्षेत्र —
- पूर्वमा चन्द्रगढी एयरपोर्टसम्म
- पश्चिममा लेखनाथ चौकसम्म
- उत्तरमा धनुषमोडसम्म
- दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकसम्म
जिल्ला प्रशासन कार्यालयले विशेष सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। साथै, पूर्व–पश्चिम राजमार्ग हुँदै गुड्ने लामो दुरीका सवारीसाधन आवतजावतमा भने यो आदेशले बाधा नपर्ने जनाइएको छ।
प्रशासनले सबैलाई सुरक्षामा सहयोग गर्न र निषेधाज्ञाको पालना गर्न अनुरोध गरेको छ।