
वीरगञ्ज (पर्सा)- जिल्ला प्रशासन कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार यहाँ आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा भएको क्षतिको श्रव्यदृश्यसहितको मुचुल्का र कागजात तयार पार्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए।
‘‘जेनजी आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपुरणीय क्षति भएका छन्’’, उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउन निर्देश गर्दछु ।’’
प्रजिअ सुवेदीले सरकारी कार्यालयले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आफ्नो कार्यसम्पादन गर्न आह्वान गरे।
‘‘तपाईँहरु कुनै पनि खालको आर्थिक अनियमिततामा संलग्न नभइकन वस्तुपरक भई कार्यसम्पादन गर्नुहुन अनुरोध गर्दछु । सेवाग्राहीलाई कुनै खालका दुःख दिने र सास्ती दिने काम गर्नुहुन्न । कानुनी प्रक्रिया पुगेको कामलाई यो वा त्यो बाहनामा दुःख दिने काम नगर्नुहोला’’, प्रजिअ सुवेदीले भने ।
उनले सरकारी कार्यालयले आफ्नो कार्यालय र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन अनुरोध गरे ।