
- झापा जिल्लामा विभिन्न कारागारबाट भागेका सात जना कैदीलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ।
- सुन्धारा कारागारबाट भागेका दुई महिलाले स्वयं प्रहरी कार्यालयमा सम्पर्क गर्दा पक्राउ परेका थिए।
- भारतको प्रहरीले भागेका एक कैदीलाई पक्राउ गरी नेपाल प्रहरीलाई फिर्ता गरेको सूचना अधिकारीले जानकारी दिए।
झापा- जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् ।
यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए।
नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन रहेका छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए ।
कास्की कारागारवाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।
नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ ।
सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । अरु दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।