
मान्म (कालीकोट) – जिल्लाको शुभकालिका–१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो।
पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो। वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहितको पहिरो गगने खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।