
पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिकामा जेन–जी प्रदर्शनका क्रममा आगलागी भई पूर्ण रुपमा क्षति भएका वडाले असोज ५ गतेदेखि सेवा दिने भएका छन्। क्षतिग्रस्त वडाले वैकल्पिक स्थानबाट सेवा दिन लागेका हुन्।
बिहीबार बसेको नगर कार्यपालिका बैठकले आवश्यक सामाग्री व्यवस्थापन गरेर वैकल्पिक स्थानबाट सेवा दिने निर्णय गरेको उपमेयर खुमबहादुर विक ‘राजु’ ले बताए।
सेवाप्रवाहमा अत्यावश्यक सामाग्री नगरपालिकाले उपलब्ध गराउने उनको भनाइ छ। केही वडालाई नागरिकस्तरबाटै पनि सहयोग आउन थालेको छ।
जेनी–जी प्रदर्शनकारीले शुक्लागण्डकीका १२ मध्ये ८ वटा वडा कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। वडा नम्बर २, ५, ६, ७, ८, ९ र १० जलेर पूर्ण रुपमा क्षति भएका छन्।
नगरपालिकाको कार्यालयसँगै रहेको वडा नम्बर ४ को कार्यालयमा पनि तोडफोडसँगै चोरी भएको छ।
नगरपालिकाको २ वटा चारपांग्रे सवारी र ११ वटा मोटरसाइकल स्कुटर आगो लगाएर प्रदर्शनकारीले जलाएका छन्। तनहुँमा वडा कार्यालयमौ तोडफोड भएको शुक्लागण्डकीमा मात्रै हो। तनहुँका १० पालिकामध्य व्यास र शुक्लागण्डकी नगरपालिको कार्यालयमा आगजनी भएको छ।